बहुप्राविधिक शिक्षालय उद्घाटन

जाजरकोट, १२ पुस : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटमा बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्नुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा आज यहाँ बहुप्राविधिक शिक्षालयको उद्घाटन गर्दै उहाँले भएको जायजेथा बिक्री गरेर बाहिर जिल्लामा गई पढ्ने दिनको अब अन्त्य भएको बताउनुभयो । 

स्थानीय सरकारले पनि विभिन्न प्राविधिक विषय पढ्नका लागि सहयोग गर्दै आएकामा अब आफ्नै घर, आँगनमा पढ्न पाउने अवसर मिलेको मन्त्री बस्नेतले बताउनुभयो । उहाँले सिंहदरबारको अधिकार गाउँगाउँमा आए झैँ देशका ठूलाठूला शहरमा केन्द्रीत भएका सेवा अब गाउँघरमै आएको र यसको उदाहरणको रुपमा बहुप्राविधिक शिक्षालयलाई लिन सकिने धारणा राख्नुभयो । 

कार्यक्रममा सिनेट सदस्य तथा सांसद सत्य पहाडीले घर, आँगनमै आएको सेवा उपयोग गरी जिल्लाको जनशक्ति तयार हुनुपर्ने कुरामा जोड दिनुभयो । जाजरकोट, रुकुम, डोल्ला जिल्लाका विद्यार्थीका लागि यो अवसर भएको उहाँको भनाइ छ । 

डिप्लोमा नसिङ, फार्मेसी, एचए, ल्याबटेक्निसियन लगायतका प्राविधिक विषय अब जाजरकोट सदरमुकाममै पढ्न पाइने भएपछि कर्णालीवासी हर्षित छन् । यी विषय पढ्न यहाँका विद्यार्थी देशका विभिन्न ठाउँमा जाने गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.