घरेलु तथा कृषि वस्तु मेला शुरु
काठमाडौँ, ५ पुस : नेपाल उद्यमशील महिला महासङ्घले आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले भृकुटीमण्डपमा ‘राष्ट्रिय उद्यमशील महिला मेला’ आजदेखि शुरु गरेको छ ।
यही पुस ९ गतेसम्म जारी रहने मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका जुत्ता चप्पल, खेलौना, झोला, टोपीसहितका हस्तकला वस्तु र प्राङ्गारिक कृषि उपज प्रदर्शन गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले मेलाको शुभारम्भ गर्दै हस्तकला क्षेत्रले समाजमा लघुवित्तको सङ्कलन र परिचालनमा महत्वपूर्ण योगदान पु¥याउने हुँदा यस क्षेत्रलाई प्रवद्र्धन गर्ने सरकारको नीति रहेको बताउनुभयो ।
उहाँले देशका विभिन्न ग्रामीण भेगमा घरेलु तथा हस्तकलासम्बन्धी व्यावसायिक सीप, तालीम उपलब्ध गराई यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महासङ्घका अध्यक्ष देवकी बुढाथोकीले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरण गर्न महिला सशक्तीकरणको खाँचो रहेको बताउँदै समाजको आर्थिक विकासका लागि घरेलु उद्योगमा लगानी वृद्धि गरी स्वदेशी उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो ।
देशका ४२ जिल्लामा सञ्जाल विस्तार गरेको महासङ्घमा हाल एक हजार २०० महिला उद्यमी सहभागी छन् । मेलामा उद्योगको अवस्था, व्यापार घाटा न्यूनीकरणलगायत विषयमा विज्ञसम्मिलित गोष्ठी गरिने बताइएको छ ।
