शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्नुपर्छ : शिक्षामन्त्री पोखरेल

भक्तपुर, ७ मङ्सिर : शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्न शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर लैजानुपर्ने बताउनुभएको छ ।

आज विश्वविद्यालय अनुदान आयोगको २५औँ वार्षिकोत्सव तथा रजतजयन्ती कार्यक्रममा उहाँले शिक्षालाई विज्ञान, प्रविधि, खोज र अनुसन्धानसँग जोडेर लैजाने तथा त्यसलाई प्रयोग गर्नसके मात्रै देश समृद्ध हुने बताउनुभयो । परम्परागत शिक्षा र परीक्षामुखी शिक्षा काम नलाग्ने बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, “परम्परागत शिक्षालाई निरन्तररुपमा लैजान हामी आएका होइनाँै, नेपालको शिक्षालाई विकाससँग जोड्न आएका हाँै, परीक्षामुखी शैक्षिक पद्धतिले हाम्रो समस्या समाधान हुँदैन, अब शिक्षालाई उत्पादनसँग जोडेर लैजानुपर्छ ।”

मन्त्री पोखरेलले आगामी एक वर्षभित्र विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा ल्याएर राष्ट्रियरुपमा देशलाई पूर्ण साक्षर घोषणा गर्ने तयारीमा जुटेको बताउनुभयो । साथै सबै शिक्षण संस्थालाई हरित अभियानमा जोड्ने बताउँदै मन्त्री पोखरेलले उच्च शिक्षा क्षेत्रमा रहेको अराजकता र बेथितिलाई अब सुधार गरेर लैजाँदै विश्वविद्यालयलाई राष्ट्रिय वा प्रदेश के हो त्यो वर्गीकरण गर्दै राष्ट्रिय र प्रदेशअन्तर्गत लैजाने तयारी भइरहेको बताउनुभयो ।

सङ्घीय शिक्षा नीति निर्माण प्रक्रियामा सरकार अगाडि बढेको बताउँदै उहाँले यसको पहिलो मस्यौदा तयार भएको र अब सातवटै प्रदेशबाट सुझाव लिएर दोस्रो मस्यौदा तयार गरी निचोडमा पुग्ने उहाँको भनाइ थियो । कार्यक्रममा अध्यक्ष प्रा डा भीमप्रसाद सुवेदीले उच्च शिक्षाको अवस्था भयावह रहेको चित्रण गर्दै शिक्षामा आएको चुनौतीबारे छलफल गर्दै अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.