उद्योग स्थापना गर्न तीन सय बढीको आवेदन

भीमदत्तनगर, २० कात्तिक : सरकारले स्थापना गर्न लागेको सुदूरपश्चिम प्रदेशको एक मात्रै ‘दैजी छेला औद्योगिक क्षेत्र’मा उद्योग स्थापना गर्न ३६२ जना व्यवसायीले आवेदन भरेका छन् ।

कञ्चनपुरको बेदकोट नगरपालिकाको छेलामा स्थापना हुने औद्योगिक क्षेत्रका लागि सुदूरपश्चिमलगायत मुलुकका विभिन्न क्षेत्रका उद्योग व्यवसायीले उद्योग स्थापना गर्न आवेदन दिएको बेदकोट नगरपालिकाले जनाएको छ । व्यापारी तथा व्यवसायीले फलाम, सरिया, नमकिन, विभिन्न मिल स्थापना गर्न आवेदन दिएको नगरपालिका कार्यालयले जनाएको छ । साना, ठूला र मझौला उद्योग स्थापना गर्न गत साउनमा आवेदन खोलिएको थियो । नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको टोलीले औद्योगिक क्षेत्रमा निमार्ण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको बताउनुभयो ।“डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कनको काम अन्तिम चरणमा छ ।” उहाँले भन्नुभयो, “तोकिएको समयमा व्यापारी र व्यवसायीले पनि उद्योग स्थापनाका लागि आवेदन दिएका छन् ।”

औद्योगिक क्षेत्र स्थापना गर्ने भनिएको लामो समय बितिसक्दा पनि स्थापनाको काम विभिन्न प्रक्रियाका कारण मन्त्रालयमा रोकिएको थियो । सरकारले २०५२ सालमा घोषणा गरेको औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ गर्न नहुने स्थानीयवासीको भनाइ छ ।“सरकारले घोषणा गरेको दुई दशक बितिसक्दा पनि स्थापना हुन नसक्नु दुःखद् कुरो हो ।” स्थानीय रामलाल चौधरीले भन्नुभयो, “अहिले दु्रत गतिमा काम अघि बढेकाले औद्योगिक क्षेत्र स्थापना हुनेमा ढुक्क छौँ ।”

छेला औद्योगिक क्षेत्रका स्थानीयवासी रोजगारी पाउने आशामा खुशी छन् । “स्थानीय तहका जनप्रतिनिधि पनि यसका लागि निकै दौडधुपमा छन् ।” चौधरीले भन्नुभयो, “विकास र समृद्धिसित जोडिएका विषय प्रक्रियाका नाममा अल्झाउने काम हुनु हुँदैन ।”“छेला नजिकै रहेको मुक्तकमैया बस्तीका सयौँ युवा अहिले भारतमा मजदूरी गरेर परिवारको खर्च जुटाइरहेका छन् ।” उहाँले भन्नुभयो, ‘औद्योगिक क्षेत्र बने त घर आँगनमै रोजगारी पाउने छ ।” स्थानीय प्रेम चौधरीले औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ गर्न नहुने बताउनुभयो । “लामो समय भइसक्यो यो क्षेत्रमा उद्योग खुल्ने खबर सुन्न थालेको ।” चौधरीले भन्नुभयो, “यो काम भए त हाम्रो गाउँमा पनि खुशियाली छाउथ्यो ।”

चौधरीका अनुसार औद्योगिक क्षेत्र स्थापना हुने भएपछि गाउँमा जग्गाको कारोवार भएको छैन । “पहिलेको भन्दा अहिले जग्गाको मूल्य पनि बढेको छ ।” उहाँले भन्नुभयो । सरकारले प्रस्ताव गरेअनुसार पूर्वतर्फ छेला मुक्तकमैया बस्ती तथा धेउडीथुम खोल्सा, पश्चिमतर्फ चुरे वनक्षेत्र, दक्षिणतर्फ चाँदनीफाँट बस्तीको चार किल्लाभित्रको जनचेतना सामुदायिक वन करीब २०० हेक्टर र बेतकोट सामुदायिक वनको करीब ४५० हेक्टरसमेतको ९०० बिगाहा जग्गा औद्योगिक क्षेत्रको लागि कायम गरिएको छ ।

जिल्ला वन समन्वय समितिले २०६६ सालमा आवश्यक जमीन उपलब्ध गराउने सहमति गरेको र जनचेतना सामुदायिक वन, बेदकोट सामुदायिक वनले पनि औद्योगिक क्षेत्र स्थापनाका लागि जमीन दिन सहमत भइसकेका छन् ।“सरकारले पनि दैजी छेलाको चार किल्लाभित्र बनाउने निर्णय गरिसकेको छ ।” नगरप्रमुख चन्दले भन्नुभयो, “अब छिट्टै स्थापनाको काम अगाडि बढ्छ ।” उहाँले वन कार्यालयको प्रक्रियामा ढिलाइ हुँदा समस्या भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.