मापदण्डअनुसार सञ्चालन नभएका २७ उद्योगमाथि कारवाही

हेटौँडा, १३ कात्तिक : हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापनको कार्यालयले तोकिएको मापदण्डअनुसार सञ्चालन नभएका २७ उद्योगमाथि आजदेखि कारवाही प्रक्रिया अगाडि बढाएको छ ।

कार्यालयका अनुसार पाँच उद्योगलाई जरिवानासहितको कारवाही गरिएको छ । लामो समयदेखि जग्गा लिएर उद्योग सञ्चालन नगरेका २२ उद्योगको सम्झौता रद्द गर्नेसम्मको कारवाहीको प्रक्रिया अघि बढाइएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख नेपालभूषण वैद्यले जानकारी दिनुभयो । कार्यालयले उद्देश्य विपरीत उद्योग सञ्चालन गर्ने, दर्ता समयमा नगर्ने र तोकिएको मापदण्डभन्दा विपरीत उद्योग सञ्चालन गर्ने भविष्य मैदा मिल, सुजल डेरी इण्डस्ट्रिज, सुजल फुड प्रालि, बानियाँ मल्टी प्रोडक्ट इण्डस्ट्रिज प्रालि र त्रिशक्ति पोली प्याक्स उद्योगलाई रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना गरेको छ ।

कार्यालयले कारवाहीमा परेका अन्य २२ उद्योगलाई ३५ दिनदेखि तीन महीनाभित्र सम्झौता अनुसार उद्योग सञ्चालन गर्न निर्देशन दिएको छ । लामो समयदेखि औद्योगिक क्षेत्रको जग्गा ओगटेर उद्योगका लागि पूर्वाधारसमेत नबनाएका उद्योगलाई ६ महीनाभित्र पूर्वाधार तयार गर्नसमेत कार्यालयले निर्देशन दिएको छ । औद्योगिक क्षेत्रका भवन जीर्ण भइसकेका छन् ।

बिचौलिया मुक्त अभियान

हेटौँडास्थित मालपोत कार्यालय र नापी कार्यालयमा सेवाग्राहीलाई बिचौलियाबाट मुक्त गर्न स्थानीय प्रशासनले आजदेखि निगरानी र कडाइ प्रक्रिया थालेको छ । बिचौलियाले सेवाग्राहीसँग काम गराइदिने भन्दै आर्थिक लाभ लिने गरेका छन् । उनीहरुले कार्यालयमा कार्यरत कर्मचारीलाई बदनाम गर्दै आएकामा सो कार्य रोक्न प्रहरीसमेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.