तुम्लिङटार बजारका १०० घर डुबानमा, तीन घर भत्किए

वर्षाका कारण सङखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित तुम्लिङटार बजार डुबानमा । उक्त वर्षाका कारण यहाँका ३ घर पूर्णरुपमा क्षति भएका छन । तस्विरः सुजन बज्राचार्य

खाँदबारी, १३ साउन : लगातारको बर्सातका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटार बजार डुबानमा परेको छ । सोमबारदेखि लगातार परेको वर्षाले तुम्लिङटारका कम्तीमा १०० घर डुबानमा परेको छ । घरभित्र पानी पसेपछि तीनवटा घर भत्केको छ । विनोद बाह्रकोटी, कृष्ण श्रेष्ठ र शम्शेर मगरको घर भत्केको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो । खाँदबारी नगर क्षेत्रका विभिन्न स्थानका चार जनाको घरमा क्षति पुगेको छ ।

माटो र ढुङ्गाले बनेको कच्ची घर डुबानका कारण जोखिममा परेको छ । आज बिहान २ बजेपछि ठूलो पानी परेपछि तुम्लिङटार डुबेको थियो । तुम्लिङटार क्षेत्रमा ढलको राम्रो व्यवस्था नभएका कारण डुबानमा परेको स्थानीयवासीले बताएका छन् । घरभित्र पानी पसेपछि व्यापारी मारमा परेका छन् ।

पहिराले खाँदबारी नगरपालिका–६ का शान्तिकुमार खत्रीको घर भत्केको छ । घरभित्र रहेको सामग्री सेनाको बराहदल गुल्म र प्रहरीले निकालेको छ । ढुङ्गेबिसौनीका वीरसुन्दर श्रेष्ठको घर, खाँदबारी–३ का गीता दर्जी र नारायण बुढाथोकीको घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

सङखुवासभाको खाँदबारी नगरपालिका ९ स्थित तुम्लिङटारमा डुबानमा परेको दुर्गामन्दिर र आसपास क्षेत्र । अविरल वर्षापछि पानी जाने निकास नहुँदा सो क्षेत्र डुबानमा परेको हो । तस्बिरः सुजन बज्राचार्य

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.