एसओएस बालग्रामका पदाधिकारी र कर्मचारी सम्मानित
काठमाडौँ, ३ असोज : एसओएस बालग्राम नेपालमा अविछिन्न तीन दशकभन्दा बढी सेवा गरेका कर्मचारी तथा पदाधिकारीलाई आज सम्मान गरिएको छ ।
अभिभावक गुमाएका बालबालिकाको ‘मायालु घर’ का रुपमा परिचित विश्वव्यापी सामाजिक संस्था एसओएस बालग्राम नेपालका शुभचिन्तक एसओएस अन्तर्राष्ट्रियका निवर्तमान अध्यक्ष हेल्मुट कुटिन नेपाल भ्रमणमा आएको मौका पारेर उनीहरुलाई सम्मान गरिएको हो ।
यसरी सम्मानित हुनेमा एसओएस बालग्राम नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ बालरोग विशेषज्ञ प्रा डा हेमांग दीक्षित, निर्वमान अध्यक्ष प्रा डा विश्वकेशर मास्के, निर्वतमान राष्ट्रिय निर्देशक एवं बालग्रामको आकस्मिक सहायता कार्यक्रमका संयोजक श्रीशङ्कर प्रधानाङ्ग, पूर्वसंयोजक रमेशकुमार ताम्राकार, हर्मन माइनर विद्यालय सानोथिमिका पूर्वप्राचार्य शङ्करप्रसाद पौडेललगायत छन ।
मानार्थ अध्यक्ष हेल्मुट कुटिन, नेपालका अध्यक्ष डा ज्योतिरत्न धाख्वा र राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्माले उनीहरुलाई प्रशंसापत्र, दोसल्ला तथा खादा लगाएर सम्मान गर्नुभयो ।
सो अवसरमा कुटिनले संसारभरका एसओएस बालग्राममध्ये नेपालले अभिभावक र परिवार गुमाएका बालबालिकाको उचित स्याहार, संरक्षण र रेखदेखमा विगत ४४ वर्षदेखि गरेको कार्य उल्लेखनीय रहेको बताउनुभयो ।
बालग्राम नेपालले विसं २०७२ को भूकम्पमा तत्कालैदेखि आकस्मिक सहायता कार्यक्रममार्फत भूकम्पपीडित बालबालिका तथा उनीहरुको परिवार र समाजका लागि गरेको कार्य निकै उदाहरणीय भएको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा एसओएस बालग्राम सानोठिमि, जोरपाटी तथा काभ्रेका विद्यार्थीले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।
