सत्सङ्ग र प्रवचनबाट अनाथालय सञ्चालन

कञ्चनपुर, २ असोज : सत्सङ्ग र प्रवचनबाट सङ्कलित रकमले अनाथालय सञ्चालन गरेको छ ।

कञ्चनपुर कृष्णपुर नगरपालिका–५ मंलनगरस्थित कृष्णप्रणामी धामका सञ्चालक भागवत आचार्य मीरा माताले सत्सङ्ग र प्रवचनबाट सङ्कलित रकमले अनाथालय सञ्चालन गर्नुभएको हो ।

अनाथालयमा आठ जना बालबालिका बस्दै आएका छन् । कुनै पनि ठाउँमा आश्रय नभएका बालबालिकालाई अनाथालयमा राखेर माताले आश्रयसँगै विद्यालयका सबै खर्च व्यहोर्दै आउनुभएको छ । अनाथालय चलाउनका लागि ठाउँठाउँमा सत्सङ्ग समारोह र प्रवचन गर्दै आएको मीरा माताले बताउनुभयो ।

“अनाथालयमा बस्दै आएका बालबालिकाको लुगा, खाना र विद्यालयको खर्च मासिकरुपमा ४० हजारभन्दा बढी छ”, उहाँले भन्नुभयो, “सत्सङ्ग र प्रवचन कार्यक्रममा भक्तजनले दिएको भेटीबाट अनाथालय सञ्चालन हुदै आएको छ ।” “उच्च शिक्षाका लागि तीन जनालाई भारतको हरियाणामा पढाउँदै आएको र अन्य बाँकी स्थानीय सामुदायिक तथा संस्थागत विद्यालयमा पढ्दै आएका छन्,” उहाँले भन्नुभयो । प्रवचन गर्ने आचार्य धेरै हँुदा अप्ठेरो परेको पनि मीरा माताले

“धेरै प्रवचनकर्ता छन्”, उहाँले भन्नुभयो, “प्रवचन गर्ने कार्य नपाइएपछि अनाथालय चलाउन मुस्किल छ, महिला भएकाले पनि प्रवचन कार्यमा झनै गाह्रो छ ।”

सदरमुकाममा सञ्चालनमा रहेका अनाथालयमा दाताको धेरै ध्यान जाने तर यहाँ रहेका अनाथालयमा दाताको ध्यान पुग्न नसक्दा खर्च धान्न निकै मुस्किल हुन थालेको उहाँले बताउनुभयो । “मैले झापाबाट यहाँ आएर अनाथालय सञ्चालन गरेको छु”, उहाँले भन्नुभयो, “यसमा स्थानीयवासीको सहयोग हुनुपर्दथ्यो, त्यो पनि पाइएको छैन, नगरपालिका र वडा कार्यालयबाट समेत सहयोग पाउन सकिएको छैन ।” विसं २०६६ मा सञ्चालनमा आए पनि विधिवत्रुपमा अनाथालय विसं २०७० मा दर्ता भई सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.