‘महिला हिंसा न्यूनीकरणका लागि विशेष कार्यक्रम ल्याइने

काठमाडौँ, १ असोज : गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभएको छ । आज राष्ट्रिय मानवअधिकार आयोगमा आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीसँगको छलफलमा गृहमन्त्रीले महिला हिंसा र बलात्कारका घटनालाई सरकारले गम्भीररुपमा लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मदिरा, लागुपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना बढेका छन्, तिनको प्रयोगमा मन्त्रालयले कडाइ शुरु गरेको छ ।” मन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलात्कारको घटनाबाट आफू दुखित भएको भन्दै सो घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याई छाड्ने पतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “घटना लगत्तै स्थानीय प्रहरीलाई सो घटनाको गम्भीररुपमा अनुसन्धान गर्न भनिएको हो, केही दिनमै केन्द्रबाट सिआइबीको टोली पनि पठाइएको थियोे । पछि केन्द्रबाट उच्चस्तरीय छानबिन समिति गठन गरियो । अनुसन्धानमा प्रहरीको समेत लापरवाही रहेको गुनासाका आधारमा छ प्रहरीलाई निलम्बित गरिएको छ । थप अनुसन्धान टोली पनि परिचालन भएको छ । केही दिनमै परिणाम आउँछ ।”

आफूले गृह मन्त्रालय सम्हालेपछि विगतमा रहेको चन्दा आतङ्क, विस्फोट, गुण्डागर्दी, तस्करी नियन्त्रणमा आएको बताउँदै गृहमन्त्रीले यस्तो कार्यमा आयोगले समेत साथ दिनुपर्ने बताउनुभयो ।

जनताको जीउधनको रक्षा, मानवअधिकारको संरक्षण गर्ने दायित्व गृह मन्त्रालयको रहेको र मानवअधिकार आयोगको पनि सोही दायित्व रहेकाले दुवै निकायले सहकार्य गरेर अघि बढ्नुपर्ने प्रस्ताव गृहमन्त्री थापाले छलफलमा राख्नुभयो ।

छलफलमा आयोगका अध्यक्ष शर्माले कञ्चनपुर घटनाको छानबिनको अवस्थाबारे जिज्ञासा राख्दै सो घटनामा प्रहरीको भूमिका फितलो देखिएको गुनासो गर्नुभएको थियो । जनताको जीउधनको सुरक्षामा गृह मन्त्रालय गम्भीर बन्नुपर्ने अध्यक्ष शर्माको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.