बलात्कारको कसूरमा सात वर्ष कैद सजाय

सप्तरी, २२ फागुन : तीस वर्षीया एक महिलालाई बलात्कार गरेको कसूरमा सप्तरीको रूपनी गाउँपालिका–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई आज सात वर्ष कैद सजायको फैसला भएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले यादवलाई सात वर्ष कैद सजायको फैसला गरेको अदालतले जानकारी दिएको छ । जिल्ला अदालतको आदेशमा यादव चैत ५ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

बलात्कार गरी भाग्न खोज्दा पीडितले बाहिरबाट ढोका लगाई होहल्ला गरेपछि जम्मा भएका गाउँलेले प्रहरीलाई खबर गरी विसं २०७५ फागुन ११ गते राति आरोपितलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । पीडितले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०७५ फागुन १२ गते उजुरी दिएपछि प्रहरीले उजुरी दर्ता गरी कारवाही थालेको हो । पीडितका श्रीमान् वैदेशिक रोजगारका लागि मलेशियामा छन् । आपसमा आर्थिक लेनदेनको विवाद रहेको र महिलाले आफूलाई फोन गरी बोलाएर फसाएको आरोपितको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.