काठमाडौँको फोहर सडकमै थुप्रने खतरा
तत्काल वैकल्पिक फोहर व्यवस्थापन गर्ने स्थान तयार नगर्ने हो भने अबको तीन महिनामा काठमाडौँ उपत्यकाको फोहर पुनः सडकमा नै थुप्रिने खतरा बढेको छ । केही दिन अघिमात्र करिब एक महिनादेखि सडकमा थुप्रेको फोहर व्यवस्थापन गर्ने काम भएको छ ।
पछिल्लो समय उपत्यकामा फोहरको समस्या दिनानुदिन बढ्दै गरेको छ । यसरी समस्या बढ्दै जाने हो र सम्बन्धित निकायले तत्काल उपयुक्त व्यवस्थापनको पहले नगर्ने हो भने उपत्यकावासीले फोहरको कारण ठूलो समस्या सामना गर्नुपर्नेमा शंका छैन ।
काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक पाँच सय मेट्रिक टन फोहर निष्कने गर्दछ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
फोहरमैला व्यवस्थापन प्रविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले हाल फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलभन्दा दुई किलोमिटर पर प्रस्तावित बन्चरेडाँडालाई व्यवस्थित गर्न लामो समय लाग्ने बताउनुभयो ।
बन्चरेडाँडामा निर्माण गरिने सेनेटरी ल्याण्डफिल्डका लागि आवश्यक बजेटको व्यवस्था भए पनि निर्माण कार्य सम्पन्न गर्न कम्तीमा पनि तीन वर्ष लाग्ने ज्ञवालीको भनाइ छ । आजैबाट बन्चरेडाँडालाई दिर्घकालीनरुपमा फोहर राख्ने स्थान बनाउन काम शुरु गर्ने हो भने पनि तत्कालको लागि व्यवस्थापन गर्ने स्थान आवश्यक छ ।
सिसडोलमा करिब ४०/५० मिटर माथिसम्म फोहरमा निर्माण गरिएको प्रवेश मार्ग फोहरको अत्यधिक भारले गर्दा पहिरो जाने सम्भावना रहेकाले अब त्यहाँ फोहर विसर्जन नगरिने भएको छ ।
सिसडोलमा २०६२ सालमा दुई वर्षका फोहोर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिल्ड निर्माण गरिएकामा चार पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहर व्यवस्थापन गरिँदै आएको छ ।
हालसम्म पनि विगत वर्षका बजेट वक्तव्यमा तीन वर्षभित्र सम्पन्न गरिने भनिएता पनि बजेटको सुनिश्चित हुनसकेको छैन ।
काठमाडौँ उपत्यकाको एकीकृत फोहरमैला व्यवस्थापनका लागि लगानी बोर्डबाट प्रक्रिया अघि बढाइएको निजी विकासकर्तासँग प्रारम्भिक सम्झौता भएको चार महिना बितिसक्दा पनि अन्तिम सम्झौता हुनसकेको छैन ।
गत वर्षको स्थानीय तह निर्वाचनपछि स्थानीयवासीको समस्या स्थानीय तहले नै समाधान गर्नुपर्ने भए पनि उक्त समस्या समाधान हुन सकेको छैन । ज्ञवालीका अनुसार यसको पूर्णरुपमा निर्माण गर्ने काम काठमाडौँ महानगरपालिकाको हो । निर्माणका लागि कामपाले पहल तुरुन्तै शुरु गर्नुपर्नेछ । अन्यथा फोहरका कारण अत्यन्तै ठूलो समस्या आउँछ ।
यता काठमाडौँ महानगरपालिकाले भने दीर्घकालीन रुपमा फोहर राख्ने स्थान बन्चरेडाँडा निर्माणको काम केन्द्र सरकारको हो भन्दै आएको छ । कामपाका सहप्रवक्ता नवराज ढकालले केन्द्र सरकारसँग समन्वय गरेर निर्माण काम छिटो शुरु गर्ने जानकारी दिनुभयो ।