कालङ्गा जलविद्युत् आयोजनाको सुरुङभित्र मजदुर थुनिए

बझाङ, १८ कात्तिक : बुङ्गल क्षेत्रमा निर्माण भइरहेको कालङ्गा जलविद्युत् आयोजनामा काम गर्ने चार मजदुर सुरुङभित्र थुनिएका छन् । उनीहरु आइतबार दिउँसोदेखि सुरुङभित्र थुनिएका हुन् ।

दैलेखको गुराँस गाउँपालिका–३ का महेन्द्र शाही, सोही ठाउँका कर्ण शाही, अछामको तुर्माखाँद गाउँपालिका–६ का महेन्द्र साउँद र बझाङको बुङ्गल नगरपालिका–१ का शेरसिंह धामी सुरुङभित्र थुनिएको प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिनुभयो । आठ सय मिटर लामो सुरुङ भएकाले अक्सिजनको मात्रा कम भएका कारण चारैजना बेहोस भएको हुनसक्ने बताउनुभयो । उनीहरुसँगै सुरुङभित्र गएका अन्इ दुई मजदुर भने बाहिर निस्किन सफल भएको उहाँले बताउनुभयो । “चार जनाको अवस्था अज्ञात छ”, बमले भन्नुभयो ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसहित नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । सुरुङभित्र रहेका मजदुरको उद्धारका लागि काठमाडौँबाट हेलिकप्टरमा नेपाली सेनाको टोली घटनास्थल पुगेको छ । पाँच वर्षदेखि निर्माणाधिन ६५ मेगावाट क्षमताको कालङ्गा आयोजनाको हाल सुरुङ खन्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.