ज्येष्ठ नागरिक दिवस मनाउन मूल समारोह समिति गठन
काठमाडौँ, १८ भदौ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको अध्यक्षतामा २८ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मूल समारोह समिति गठन गरिएको छ ।
समितिको सदस्यमा ज्येष्ठ नागरिक अधिकारका क्षेत्रमा क्रियाशील सबै सङ्घ संस्था छन् । यस वर्ष आगामी असोज १५ गते पर्ने उक्त दिवसका लागि ‘मानव अधिकार अभियन्तालाई अभिनन्दन गरौ’ भन्ने मूल नारा तय गरिएको छ ।
ज्येष्ठ नागरिकका सवाल (स्वास्थ्य, यातायात, सामाजिक सुरक्षा) बारे यातायात, व्यवसायी, नेपाल चिकित्सक सङ्घ, निजी क्षेत्रका सेवा प्रदायक निकायलगायत सरोकारवाल पक्षसँग अन्तक्र्रिया गरिने छ ।
ज्येष्ठ नागरिक अधिकारका सन्दर्भमा नेपालले गरेको अन्तर्राष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन आवश्यक पर्ने नीति नियम ल्याउन प्रधानमन्त्री र मन्त्रीलाई स्मरणपत्र बुझाउने कार्यक्रम पनि तय भएको जनाएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले दिवसलाई देशव्यापी रुपमा मनाउन छिट्टै नै सबै स्थानीय तहमा पत्राचार गरिने जानकारी दिनुभयो । उहाँले ज्येष्ठ नागरिकको अनुभव र योगदानलाई स्मरण गर्दै ज्येष्ठ नागरिक सम्मान पनि गरिने बताउनुभयो ।
दिवसमा ज्येष्ठ नागरिक जिल्ला सङ्घले जिल्लामा ज्येष्ठ नागरिक कल्याण समितिसँगको समन्वय र सहकार्यमा निबन्ध प्रतियोगिता, फलफूल वितरण, सरसफाइ तथा प्रभातफेरी कार्यक्रम गरिने छ ।