बुढथापाको मृत्युबारे छानबिन गर्न समिति गठन

काठमाडौँ, १७ भदौ : गृह मन्त्रालयले २०७५ साउन २० गते जुम्ला सदरमुकाममा राधाकृष्ण बुढथापाको मृत्यु भएको विषयलाई छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयले बुढथापाको मृत्युबारे विस्तृत अध्ययन छानबिन गरी सत्यतथ्यसहितको प्रतिवेदन पेश गर्न आज गृह मन्त्रालयका सहसचिव गोपाल अर्यालको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको हो ।

समितिको सदस्यमा नेपाल प्रहरीका प्रहरी उपरीक्षक टेकबहादुर तामाङ, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक गुणाखर खनाल, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा, जिल्ला वकिल कार्यालय जुम्लाका जिल्ला न्यायाधीवक्ता रञ्जीता पोखरेल र आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेशका उपसचिव उपेन्द्रकेशर खनाल रहनुभएको छ ।

समितिलाई बुढथापाको मृत्युसम्बन्धी विस्तृत छानबिन गरी सत्यतथ्य विवरणसहितको प्रतिवेदन पेश गर्नुको साथै मृत्युलाई लिएर गरिएका विरोध प्रदर्शनमा भएको क्षति तथा स्थानीय प्रशासनले निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गरी कमीकमजोरी पहिचान गर्ने र सुधारका उपाय सिफारिश गर्न जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.