घर भत्किएर मृत्यु भएका परिवारलाई राहत वितरण

सल्यान, १५ भदौ : कर्णाली प्रदेश सरकारले घर भत्किएर मृत्यु भएका परिवारलाई राहत वितरण गरिएको छ ।

गत भदौ १२ गते घरको दलिन भाँचिएर बागचौर नगरपालिका–४ सेतीगुराँसका एकै परिवारका पाँच जनाको मृत्यु भएको थियो । मृत्युहुनेमा ३९ वर्षीय रामसिंह कामी, उहाँकी ३५ वर्षीय श्रीमती रामकला कामी, छ वर्षीया छोरी गङ्गा कामी, पाँच वर्षीया छोरी प्रमिला कामी र चार वर्षीय छोरा रुपलाल कामी रहेको छ । सँगै सुतेकी नौ वर्षीया छोरी सुनिता विक भने सामान्य घाइते भएकी थिइन् । घाइते बालिकाले राति ११ बजे छिमेकीलाई खबर गरेपछि स्थानीय र प्रहरीले उद्धार गरेका थिए ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पीडितकै घरमा पुगेर आज राहतस्वरुप रु एक लाख ५० हजार नगद हस्तान्तरण गर्दै एकै घरका पाँचको मृत्यु हुने गरी भएको घटनाप्रति प्रदेश सरकारका तर्फबाट दुःख व्यक्त गर्नुभयो ।

मन्त्री ज्वालाले उक्त घटनामा परी बाँचेका तीन जना बालिकाको शिक्षा दिक्षामा प्रदेश सरकारले सहयोग गर्ने बताउँदै “यो दर्दनाक घटनाले मलाई पनि मर्माहत बनाएको छ, टुहुरा बालबालिकाको शिक्षा दिक्षाका लागि प्रदेश सरकारले सक्दो गर्छ, अरुले पनि यसमा मानवीय सहयोग पु¥याउनुपर्छ भन्नुभयो ।”

यसअघि जिल्ला प्रशासन कार्यालय सल्यानले मृतकका परिवारलाई रु एक लाख राहत प्रदान गरिसकेको छ । यसैगरी छत्रेश्वरी गाउँपालिका–२ दहखोलामा पहिरोका कारण घरवारविहीन भएका तीन परिवारलाई पनि प्रदेश सरकारले राहत सामग्री वितरण गरेको छ ।

पहिरोबाट छत्रेश्वरी गाउँपालिका–२ का यमबहादुर वली, लक्ष्मण केसी र प्रेम केसीको घर पूर्णरुपमा पुरिएको थियो । मानवीय क्षति नभए पनि घर पूर्णरुपमा भत्केपछि पीडितले आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

छत्रेश्वरी गाउँपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममा मन्त्री ज्वालाले उनीहरुलाई राहत सामग्री उपलब्ध गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.