जन्मघरमा भीमदत्त पन्त सङ्ग्रहालय
धनबहादुर भण्डारी । डडेल्धुरा, २७ साउन : शहीद भीमदत्त पन्तका नामबाट उहाँको जन्मस्थल अमरगढी नगरपालिकाको कारीगाउँ रहेको घरमा सङ्ग्रहालय राखिने भएको छ । सङ्ग्रहालय राख्नका लागि आदर्श बस्ती निर्माण कार्य शुरु गरिएको छ ।
शहीद पन्तको जन्मस्थल कारीगाउँमा १६ कोठे भवन भाडामा लिएर काम शुरु गरिएको छ । निर्माणको सबै रेखदेख र जिम्मेवारी अमरगढी नगरपालिकाले लिने गरी प्रदेश सरकारले उक्त योजनामा बजेट छुट्याएको हो । अहिले अमरगढी नगरपालिका र प्रदेश सरकारको साझेदारीमा सङ्ग्रहालय र आदर्श बस्ती निर्माण कार्य गर्न लागिएको अमरगढी–१ का वडाध्यक्ष गोविन्द बोहराले बताउनुभयो ।
सरकारले पहिलोपटक विकास बजेट छुट्याएर शहीद पन्तको नामबाट सङ्ग्रहालय र आदर्श ग्राम निर्माण थालनी गरेको हो । शहीद पन्तले सात दशकअघि सुदूरपश्चिमबाट किसान, दलित र नूनजस्ता आन्दोलनको नेतृत्व गरी गरीबका पक्षमा सशस्त्र क्रान्ति शुरु गर्नुभएको थियो । शहीद पन्तको जन्मथलो अमरगढी–१ कारीगाउँमा सङ्ग्रहालय र आदर्श वस्ती निर्माण थालनी भइसकेको अमगरगढी नगरपालिका प्रमुख विश्वेश्वर ओझाले जानकारी दिनुभयो ।
भीमदत्तले पु¥याउनुभएको योगदान र गरीब तथा निमुखा वर्गका लागि गरेको सङ्घर्षको स्मरण झल्काउने कुरा पनि सङ्ग्रहालयमा राखिने जनाएका छन् । सङ्ग्रहालय निर्माणको प्रारम्भिक काम शुरु भइसकेको छ, अमरगढीका प्रमुख ओझाले बताउनुभयो ।
शहीद पन्तको घरलाई नै सङ्ग्रहालयमा परिणत गर्न आवश्यक पूर्वाधार र गुरुयोजना निर्माणका लागि विज्ञको टोलीलाई जिम्मा दिइएको प्रमुख ओझाले बताउनुभयो । दुवै योजनाको विस्तृत अध्ययनपछि प्रदेश सरकार र अमरगढी नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्ने जानकारी प्रमुख ओझाले जनाएका छन् । सङ्ग्रहालय निर्माणका लागि प्रदेश सरकारले रु १५ लाख र अमरगढी नगरपालिकाले रु आठ लाख खर्च विनियोजित गरेका छन् । सङ्ग्रहालय निर्माण भएपछि शहीद पन्तको सम्मान बढ्ने स्थानीय कारीगाउँवासी बताउँछन् ।
सङ्ग्रहालयमा सात सालको क्रान्ति, भीमदत्त पन्तले गरेको किसान आन्दोलन, नून आन्दोलन र जातीय छुवाछूतविरुद्धको आन्दोलनमा प्रयोग भएका सामग्री र जानकारी राखिनेछ । उनले कञ्चनपुरको बेलौरी र ब्रह्मदेवमा गरेको सशस्त्र आन्दोलनमा प्रयोग भएका हतियारको पनि खोजी गरी सङ्ग्रहालयमा ल्याउन आवश्यक अनुसन्धान गरिने अमरगढी नगरपालिकाले जनाएको छ ।
भीमदत्तको हत्या भएको स्थल डडेलधुरा र डोटी सिमानाको गलेकमा रहेका भीमदत्त पन्तसँग सम्बन्धित वस्तु पनि सङ्ग्रह गरिने जानकारी अमरगढी नगरपालिकाले दिएको छ । डडेल्धुरा सदरमुकामसँगै जोडिएको शहीद भीमदत्त पन्तको जन्मस्थल कारीगाउँमा सङ्ग्रहालयसँगै घरबास (होमस्टे) पनि शुरु गरिने भएको छ । नगरपालिकाले नै सञ्चालन गर्ने गरी घरबास शुरु हुने जानकारी अमरगढी नगरपालिकाले दिएको छ ।
प्रचारप्रसारको अभावमा नेपाल एकीकरणको ऐतिहासिक किल्ला ओझेलमा परेका छन् । भीमदत्त सङ्ग्रहालय, अमरगढी किल्ला, घटाल बाबा क्षेत्र, उग्रतारा दर्शन र प्राचीन डोटी राज्यको राजधानी अजयमेरु कोटलाई जोडेर एकीकृत विकास गर्न बताउँदै स्थानीय व्यवसायीले माग गरेका छन् ।
भीमदत्त सङ्ग्रहालयले जिल्लाको पर्यटकीय विकासमा ठूलो टेवा पु¥याउने विश्वास स्थानीय व्यवसायीले गरेका छन् । यहाँ ऐतिहासिक र धार्मिकस्थलको विकास गरी पर्यटकलाई भित्र्याउन सक्नेमात्रै हो भने आन्तरिक आम्दानी र युवालाई विदेशिनु नपर्ने होटल व्यवसायी बताउँछन् । शहीद भीमदत्त पन्तलाई सात वर्षअघि मात्रै शहीद घोषणा गरेको थियो ।