महानिरीक्षक खनाल स्वदेश फिर्ता, विविध विषयमा सहमती
काठमाडौँ, २६ साउन : भारतको नयाँ दिल्लीमा भएको ‘थर्ड कोअर्डीनेशन मिटिङ’मा सहभागी भई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल शनिबार स्वदेश फर्किनु भएको छ ।
उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हार्दिक स्वागत गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनाल उक्त ‘कोअर्डीनेशन मिटिङ’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार त्यसतर्फ जानु भएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालकासाथ उक्त ‘कोअर्डीनेशन मिटिङ’मा सशस्त्र प्रहरी बल नेपालबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी. तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक कविन्द्रमान श्रेष्ठ र सशस्त्र प्रहरी नायव उपरीक्षक कमलप्रसाद तिउसिना सहभागी रहेका थिए ।
यसैगरी नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशिलकुमार भण्डारी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, गृहमन्त्रालयका उपसचिव एकदेव अधिकारी र परराष्ट्र मन्त्रालयका शाखा अधिकृत डा. इला मैनाली समेत उक्त मिटिङमा सहभागी रहेका थिए ।
यही साउन २२ गतेदेखि २५ गतेसम्म भएको सो ‘कोअर्डीनेशन मिटिङ’मा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेतृत्व गर्नुभएको थियो भने भारतको तर्फबाट सशस्त्र सीमा बलका महानिर्देशक रजनीकान्त मिश्रले नेतृत्व गर्नुभएको थियो ।
उक्त ‘कोअर्डीनेशन मिटिङ’मा सीमा क्षेत्रको सुरक्षा अवस्थाबारे छलफल हुनुकासाथै कुनै समस्या आएमा एक आपसमा समन्वय गरी सुल्झाउने सहमती भएको छ । यसैगरी सीमा क्षेत्रका सूचनालाई आवश्यकता अनुसार एक आपसमा आदान–प्रदान गर्ने सम्बन्धमा समेत सहमती भएको छ ।
सीमा क्षेत्रमा दुवै पक्षको सहमती र समन्वयमा संयुक्त पट्रोल गर्ने, सीमा क्षेत्रमा आवत जावत हुने ठाउँमा दुवै पक्षको सहमतीमा जाँच गर्ने, चाडपर्वलाई ध्यानमा राखेर सीमाको दुवैतर्फ सहायता कक्ष राखेर आवत जावत गर्नेलाई सेवा प्रदान गर्ने निर्णय समेत सो मिटिङमा भएको छ ।
यसैगरी दुवै संगठनको नेतृत्व स्तरमा, क्षेत्रीय स्तरमा तथा जिल्ला स्तर र स्थानीय स्तरमा नियमित रुपमा समन्वय बैठक राख्ने, एक अर्काका कमाण्डरबीच नियमित सम्पर्क समन्वय गर्ने, दुवै देशले सीमा क्षेत्रमा प्रभावकारी सीमा व्यवस्थापनका लागि संयुक्त अभ्यास गर्ने, दुवै देशका तालिमे अधिकृतलाई एक अर्काको ‘ट्रेनिङ एकेडेमी’को अवलोकनको अवसर प्रदान गर्ने लगायतका विविध विषयहरुमा समेत सहमती भएको छ ।