अपाङ्गता भएका चौधरी दम्पतीलाई खाद्यान्न

भीमदत्तनगर, २५ मङ्सिर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमुक्त कमैया शिविरका अपाङ्गता भएका रामबहादुर चौधरीको परिवारलाई आज खाद्यान्न तथा आर्थिक सहयोग प्रदान गरिएको छ ।

आइतबार राससमा ‘अपाङ्गता भएको दम्पतीको हारगुहार’ शीर्षक समाचार सम्प्रेषण भएपछि यहाँका विभिन्न निकायबाट उक्त दम्पतीलाई सहयोग उपलब्ध भएको हो । वाणी मुक्तकमैया शिविरमा आश्रय लिँदै आएका रामबहादुर चौधरी र उहाँका श्रीमती मुन्नी अपाङ्गता भएका दम्पती हुन । दुवैले ह्वीलचियरको प्रयोग गर्नुहुन्छ । आर्थिक अवस्था कमजोर भएकाले छाक टार्न र चार छोरीको खर्च जुटाउन सो दम्पतीलाई कठिनाइ भएको छ ।

उक्त दम्पतीलाई राससमार्फत यहाँस्थित नेपाली सेनाको देवीदल गण, सिंहशार्दूल गुल्म, कञ्चनपुर उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य एवं युवा व्यवसायी दिनेश मल्ल, कुमार श्रेष्ठ निर्माण सेवाका इञ्जिनीयर किशोरराज पाण्डेय, हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्द र पूर्वप्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले सहयोग गर्नुभएको हो । उहाँहरुले चौधरीको घरमै पुगेर डेढ क्विन्टल चामल, पिठो, दाल, नून, तेल, अन्य खाद्य सामग्रीका साथै रु पाँच हजार सहयोग गर्नुभएको हो ।

“घरमा चामल नभएर माइतीमा छाक टार्न गएकी थिए,” सहयोग सामग्री पाएपछि मुन्नीले भन्नुभयो, “आर्थिक समस्याले दुई छोरी माइतीमै छाडेकी छु ।” चौधरीले यसअघि चामल किन्नकै लागि गाउँको सहकारीबाट रु १० हजार ऋणसमेत लिनुभएको छ । “दुवैजना थलिएपछि जीविकोपार्जन गर्न मुस्किल भएको छ, कहिँकतैबाट ऋण पाइन छाड्यो ।” अपाङ्गता भएका चौधरी दम्पतीको दयनीय अवस्था छ । जाडो याममा न्यायो लुगाको समेत अभाव छ । रामबहादुरको ह्विलचियर बिग्रेको महीनौँ वितेको छ । “ह्विलचियर र न्यायो लुगा पाए हिउँद काट्न सजिलो हुन्थ्यो,” रामबहादुरले पीडा सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.