प्रशासन र आन्दोलनरत पक्षबीच सहमति, परिवारलाई रु दश लाख दिने

इनरुवा, ६ मङ्सिर: सुनसरी दुहबीमा भएको फिदा हुसेन घटनाका सम्बन्धमा स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच आज सहमति भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती र आन्दोलनरत पक्षबीच भएको वार्तामा सरकारले चार वटा माग सम्बोधन गर्ने भएपछि सहमति भएको वार्ता समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य सीताराम मेहताले जानकारी दिनुभयो ।

सरकारले मृतक फिदा हुसेनका छोरालाई नेपाल विद्युत् प्राधिकरण दुहबीमा रोजगार उपलब्ध गराउनका लागि ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्रालयमार्फत नेपाल विद्युत् प्राधिकरणलाई मन्त्रिपरिषद्को निर्णय अनुसार आग्रह गर्ने, मृतक फिदा हुसेनलाई शहीद घोषणा गर्ने, निजको परिवारलाई क्षतिपूर्ति स्वरुप रु १० लाख उपलब्ध गराउने र उक्त घटनाको अनुसन्धान गरी वास्तविक दोषीलाई कानुनी कारवाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिने विषयमा दुई पक्षबीच सहमति भएको वार्ता समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य मेहताले बताउनुभयो ।

दुईपक्षीय वार्ता सफल भएपछि शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लाने तयारी भइरहेको स्थानीयवासीले बताएका छन् । यता आन्दोलनरत पक्षले भने आफ्ना आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

बुधबार बिहान मर्निङवाकमा निस्केका फिदा हुसेनको अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेको थियो ।

परिवारलाई रु दश लाख दिने

हुसेनका परिवारलाई सरकारले राहतस्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिँदै मृतक हुसेनका छोरालाई सरकारकोतर्फबाट रोजगारी उपलब्ध गराउने बताउनुभयो ।

घटनाको छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली घटनास्थलमा पुगी अध्ययन शुरु गरिसकेको जानकारी दिँदै उहाँले दोषी पत्ता लगाई कारवाही गर्न सरकार प्रतिबद्ध रहेको छ भन्नुभयो ।

मन्त्री बाँस्कोटाले मृतक हुसेनका परिवारले उठाएका मागलाई सरकारले सम्बोधन गरेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.