वैदेशिक रोजगार मुद्दामा कार्की कारागार
काठमाडौँ, २ मङ्सिर : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैदेशिक रोजगार कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ ।
ब्युरोको टोलीले वैदेशिक रोजगार मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको विसं २०७१ कात्तिक २३ को फैसलाअनुसार चार वर्ष कैद र रु चार लाख जरिवाना हुने ठहर गरे पनि फरार रहँदै आएका ताप्लेजुङ थुम्वेदिनका विनोदकुमार कार्कीलाई आज मण्डिखाटारबाट पक्राउ गरेको हो ।
कार्कीले विसं २०६८ मा काठमाडौँको नक्सालमा नर्थपोल ओभरसिज प्रालिका सञ्चालन गरेर आकर्षक वैदेशिक रोजगारका लागि पोल्याण्ड, युएइ, मलेसिया र बहराइन पठाइदिने सर्वसाधारण व्यक्तिबाट रु १६ लाख ४३ हजार ७१९ रकम ठगी गरेका थिए ।
वैदेशिक रोजगार न्यायाधीकरणले प्रतिवादीबाट पीडित व्यक्तिलाई ठगी गरेको रकमको क्षतिपूर्ति र हर्जाना रकमसहित हुन आउने रु २४ लाख ६५ हजार ५९३ दिलाइ भराइदिन फैसला गरेको थियो । पक्राउ कार्कीलाई अदालतको आदेशअनुसार कैद भुक्तानीका लागि आजै केन्द्रीय कारागार सुन्धारा पठाइएको ब्युरोले जनाएको छ ।
