आँधीखोला बगरको कमाइले दशैँ मान्दै मजदूर महिला

आधिखोला किनारमा मजदुरी गरेर आफनै कमाईले दशै मनाउने योजना बुन्दै गरेका महिला मज्दुरहरु । तस्वीर: हिमलाल पराजुली, स्याङजा

हिमलाल पराजुली । स्याङ्जा, ३१ असोज : धेरै मजदूरको लागि परिवार पाल्ने र घरखर्च चलाउने आम्दानीको स्रोत बनेको छ– आँधीखोला किनारमा रहेको बगर । आँधीखोलाको किनारमा बालुवा चाल्नुका साथै गिट्टी कुटेर धेरै मजदूरले आफ्नो परिवार पाल्दै र पर्व मनाउँदै आएका छन् ।

स्याङ्जा जिल्ला वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङकी २७ वर्षीया राधा विश्वकर्मा बाँयेटारी बजारस्थित आँधीखोलाको किनारमा बालुवा चालेर कमाएको पैसाले दशैँमा छोराछोरीलाई नयाँ कपडा किनीदिनुभएको छ । राधाका श्रीमान् वैदेशिक राजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ ।

श्रीमान्को कमाइको पैसा प्राप्तिको ठेगान नहुने भएकाले आफूले काम गरेर घर परिवारको खर्च चलाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान्ले कहिले पठाउनु हुन्छ निधो हँुदैन गाउँघरमा दशैँको बेलामा अरुसँग माग्नभन्दा आफैँले कमाएर दशैँ मनाउन ठीक लागेर काम थालेको छु ।”
बिहानदेखि साँझसम्ममा एक ट्र्याक्टर बालुवा जम्मा गर्ने र एक ट्र्याक्टरको रु एक हजार २०० मा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

बोधिभञ्ज्याङकै सुमित्रा विकले पनि श्रीमान् विदेशमा भएको बताउँदै अरुसँग दुईचार पैसा के माग्नु भन्दै आफँैले दुःख गरेर कमाएर छोराछोरीको कापीकलम र घरखर्च चलाउनको लागि काममा आएको बताउनुभयो । श्रीमान्ले विदेशमा दुःख गरेर कमाएको पैसामा मात्रै भर परेर बस्नुभन्दा आफूले पनि सानोतिनो काम गरेर केही पैसा कमाउन सके परिवार पाल्न र छोराछोरीको पढाइ खर्च चलाउन सहयोग पुग्ने सोचेर खोला किनारमा काम गर्न आएको बताउनुभयो ।

वालिङ नगरपालिका–१२ स्थायी घर बताउने हाल ठूलाखेत बाँयेटारीमा बस्दै आउनुभएकी माया गुरुङले घरमा यतिकै बस्नुभन्दा काम गर्दा समय बितेको पनि थाहा नहुने र साथीसँग काम गर्दा रमाइलो हुने भएकाले काम गर्न आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.