जानकी मन्दिरमा मन्त्रीद्वय द्वारा पूजाअर्चना

महेन्द्रनगर, धनुषा, १३ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले संयुक्त रुपमा जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ ।

जानकी मन्दिरको दर्शन तथा पूजाअर्चनापश्चात सञ्चारकर्मीसँग कुरा गर्दै पेट्रोलियम मन्त्री प्रधानले भारतबाट निर्वाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रियोस् भन्ने चाहेको बताउनुभयो । उहाँले नेपाली जनताको सुविधाका लागि निर्वाध रुपमा पेट्रोल पठाउन मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलानको काम तीव्र गतिमा भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेसम्म ट्याङ्करमार्फत तेल आयात भइरहेको छ । प्राकृतिक विपद्को बेला पेट्रोलियम पदार्थ आयात गर्न समस्या हुन्छ । त्यसैले भारतीय आयल कर्पोरेशनको ३२२ करोड भारतीय रुपैयाँको लगानीमा पाइप लाइन निर्माण भइरहेको छ ।”

नेपाल भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको उक्त ६९ किलोमिटर पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको समीक्षा गर्न आफू नेपाल भ्रमणमा आएको उहाँले बताउनुभयो । मन्त्री प्रधानले पाइपलाइनबाट तेल आउन थालेपछि भारत र नेपालको सम्बन्ध अझै उचाइमा पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उद्योगमन्त्री यादवले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात हुन थालेपछि पेट्रोलियम पदार्थका क्षेत्रमा देखिएका समस्या र झन्झट हट्ने दाबी गर्नुभयो । अन्तर्राष्ट्रियस्तरको परियोजनाका रुपमा सबैभन्दा पहिले अमलेखगन्ज–मोतिहारी पाइपलाइनको काम सम्पन्न हुने मन्त्री यादवको भनाइ छ । उहाँले भन्नुभयो, “तीन वर्षभित्र परियोजना निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि अहिले जुन गतिमा काम भइरहेको छ । यसले एक वर्षमा पाइपलाइन निर्माणको काम सम्पन्न हुन्छ ।”

उहाँले पाइपलाइनबाट तेल आउन थालेपछि सबै प्रकारको झमेलाबाट मुक्त हुनुको साथै पेट्रोलियम पदार्थको मूल्यसमेत घट्ने बताउनुभयो । मन्त्री यादवले ग्यास आउने पाइपलाइनको समेत सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराउनुभयो । जनकपुर आउनुअघि दुवै मन्त्रीले धनुषाको धनुषाधाममा ‘चालक तालीम केन्द्र’को उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.