के हो विश्वघस्रपक्ष ? यस पक्षमा कुन कुन कार्य गर्नु हुन्छ ? कुन कुन कार्य गर्नु हुँदैन ?
टेकनाथ न्यौपाने । १ असार, काठमाडौं । यहि असार ९ गतेबाट आषाढकृष्ण विश्वघस्रपक्ष सुरु हुँदैछ । एक पक्षभित्र १५ वटा तिथि हुनेमा २ वटा तिथि क्षय भई यदि १३ वटा मात्र तिथि पर्यो भने यस्तो पक्षलाई विश्वघस्रपक्ष भनिन्छ, यसलाई रौरवकालयोग पनि भनिन्छ । यो महिनाको आषाढकृष्णमा ९ गतेबाट २१ गतेसम्म १३ दिन विश्वघस्रपक्ष रहेको छ । द्वितीया र चतुर्दशी तिथिको क्षय भएर अर्थात् सूर्योदयसँग सम्बन्ध नरहेकाले १३ दिनको पक्ष बन्न पुगेको छ ।
पक्षस्य मध्ये द्वितिथी पतेतां तदा भवेद्रौरवकालयोगः ।
पक्षे विनष्टे सकलं विनष्टमित्याहुराचार्यवराः समस्ताः ।।
वैदिक ज्योतिष शास्त्रमा सूर्योदयसँग सम्बन्धित तिथिहरु मात्र गणना हुनाले जुन तिथिले कुनै पनि सूर्योदयलाई छुदैन अर्थात् यदि कुनै तिथि आज सूर्योदय भैसकेपछि सुरु हुन्छ र भोलि सूर्योदय हुनुभन्दा पहिले नै त्यो तिथिको भोग समाप्त हुन्छ भने त्यस तिथिलाई क्षय तिथि भनिन्छ ।
एकपक्षयादायान्ती तिथियश्च त्रयोदशः ।
त्रयोदशा क्षयम् यान्ती वाजिनो मानुजो गजाः ।।
त्रयोदशदिने पक्षे तदा संहरते जगत् । (ज्योतिर्निबन्ध)
यस्तो काल योग धेरै वर्षमा एकपटक मात्र आउने गर्दछ, यस्तो समयमा पृथ्वीमा विनाशको अवस्था आउन सक्ने शास्त्रमा बताइएको छ ।
त्रयोदशदिने पक्षे तदा संहरते जगत् ।
अपि वर्षसहस्रेण कालयोगः प्रवर्तते ।।
सामान्यतः तिथिक्षयलाई अशुभ नै मानिन्छ । यसैगरी एकपक्षमा दुई तिथिको क्षय पनि अशुभकारक नै हुने भएकोले विश्वघस्रपक्ष हुनु अशुभकारक मानिएको छ । यस पक्षमा हात्ति घोडालगायतका पशुपंक्षि र मनुष्यहरुको विनाश हुन्छ भनिएको छ । यस्तो समयमा विश्वमा संकट निम्त्याउने, प्रकोप र विपत्तिको सामना गर्नु पर्ने हुन सक्छ भन्ने फलवर्णन ज्योतिर्निबन्धमा पाइन्छ ।
अस्ते वज्य सिंहनक्रस्थजीवे वर्ज्य केचिद्वक्रगे चातिचारे ।
गुर्वादित्ये विश्वघस्रेऽपि पक्षे प्रोचुस्तद्वद्दन्तरत्नादिभूषाम् ।। (मुहूर्त्तचिन्तामणिः, १।४८)
शुक्र र बृहस्पति अस्त भएको समयमा जुनजुन कर्म गर्न निषेध गरिएको छ, ती कर्महरू सिंह र मकर राशिमा बृहस्पति भएको बेलामा पनि वर्जित छन् । कुनै कुनै आचार्यको मतमा बृहस्पतिको वक्रत्व र अतिचारमा पनि उक्त कार्य गर्न हुँदैन भन्ने उल्लेख छ। यस्तै गुर्वादित्ययोग अर्थात् बृहस्पति र सूर्य एउटै राशिमा भएको बेलामा र विश्वघस पक्षमा पनि बृहस्पति र शुक्रको अस्तमा गर्न नहुने कार्य गर्नु हुँदैन भन्ने मत देखिन्छ ।
यो समयमा गरिएका समस्त शुभकार्यहरु अनिष्ट फलदायक नै हुन्छन । यसैले यो समयमा काम्य विशेष कर्म नगर्नु भनी बताइएको हो । नित्य (दैनिक पूजापाठ, श्राद्ध, पर्व आदि) र नैमित्तिक (नामकरण, अन्नप्राशन अन्त्यकर्म आदि) कार्य भने यस्तो अवस्थामा पनि गर्न सकिन्छ ।
गुरु शुक्र अस्तको समयमा जस्तै विश्वघस्रपक्षमा पनि काम्यकर्म (विवाह, व्रतबन्ध, कुवा खन्ने, वगैंचा निर्माण, गृहारम्भ, गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, वधूप्रवेश, महादान, सोम यज्ञ, अप्टका श्राद्ध. गोदान (केशान्तकर्म), नवान्न भक्षण, प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृपोत्सर्ग, दीक्षा मन्त्र ग्रहण, मुण्डन, पहिलो पटक तीर्थ यात्रा, सन्यास ग्रहण) आदि जुराएर गर्नुपर्ने कार्य वर्जित हुन्छन् ।
तर मुहूर्त चिन्तामणिमा कश्यप मुनिका अनुसार विशेष गृहस्थिति अर्थात यदि केन्द्र यदि त्रिकोणमा ग्रहहरूको शुभ स्थिति छ भने यस विश्वघस्रपक्षको दोष समाप्त हुन्छ ।
“अब्दायनर्तुमासोत्थाः पक्षतिथ्यृक्ष – सम्भवाः ।
ते सर्वे नाशमायन्ति केंद्रसंस्थे शुभ ग्रहे ।।”