महादेव पोखरी र कालदहमा मेला, खेतखेतमा भ्यागुतोलाई भात

मध्यपुर थिमि ७ नगदेशस्थित विसन्तकी महादेवमा जनैपूर्णिमाका दिन लागेको दर्शनार्थीको भीड । जनैपूर्णिमाका दिन शिलुतीर्थ (गोसाइँकुण्ड) मा जान नसक्ने भक्तजन यहाँ दर्शन गर्न आउने प्रचलन छ । यस कुण्डमा गोसाइँकुण्डबाट पानी आएको जनविश्वास छ । तस्वीर: रत्न श्रेष्ठ

भक्तपुर, १९ साउन : कोभिड–१९ को सङ्क्रमणको बीचमा पनि आज यहाँका विभिन्न कुण्ड एवं पोखरीमा मेला लागेको छ । नेपालको दोस्रो गोसाइँकुण्डका रूपमा मानिने नगरकोटस्थित महादेवपोखरी कुण्डमा आज बिहानदेखि मेला लागेको हो ।

रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजनले महादेव पोखरी मन्दिरमा पुगेर कुण्डमा नुहाएर महादेवको पूजा गरेमा पुण्य प्राप्त हुने मान्यता रहँदै आएको छ । हरेक वर्ष जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, देउपुर, बनेपा, पनौतीदेखिका मानिस आउने गरे पनि यस वर्ष भने कोरोनाका कारण मेला भर्न आउनेको भीड नभएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयो ।

गोसाइँकुण्डको पानी महादेव पोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजानेहरू यहाँ आउने पुरानो परम्परा छ । कुण्डमा विभिन्न जातजातिका मानिसले आ–आफ्नो परम्पराअनुसार पूजाअर्चना गर्ने, झाँकीलगायत विभिन्न नाच प्रस्तुत गरेर मेला भर्ने गरेका छन् ।

त्यसैगरी जनैपूर्णिमाका दिन आज भक्तपुरको व्यासीस्थित औद्योगिक क्षेत्रमा रहेको प्राचीन कालदह अर्थात् महादेवपोखरीमा बिहानदेखि ठूलो मेला लागेको छ । यस दिन कालदहमा आई स्नान गर्ने र पोखरीको बीचमा रहेको महादेवको पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ । यहाँ स्नान गर्दा शरीरमा भएको रोग नाश हुने जनविश्वास रहेको छ । कालदहको स्नान र पूजाअर्चनापछि भक्तजन रक्षाबन्धन बाँध्ने गर्छन् ।

खेतखेतमा भ्यागुतालाई पूजा गरी र भोजन खुवाइयो 

त्यसैगरी आजकै दिन यहाँका किसानले बिहानै खेतखेतमा गएर भ्यागुताको पूजा गरी भात खुवाएका छन् । जनैपूर्णिमाको अवसरमा आज बिहानै वर्षा गराउने दूत एवं प्राकृतिक देवताको स्वरूप मानेर भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाएका हुन् । खेतमा पूजा गरेर भात खुवाउँदा रोपाइँको समयमा र बर्सात् शुरु हुनुभन्दा पहिले खेतमा काम गर्दा कोदालीबाट मरेका कीराफट्याङ्ग्रा र भ्यागुतालाई मारेको पापमोचन हुने जनविश्वास राख्दै यस दिन भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ ।

खेतमा कीरा मारेर अन्न उब्जाउनसमेत सहयोग गर्ने प्राकृतिक देवताका रूपमा भ्यागुतालाई सिमीको पातमा खाद्य परिकार राखेर खेतखेतमा गई पूजा तथा भोजन गराउने परम्परा रहेको संस्कृतिकर्मी बताउँछन् । वर्षौंदेखि परम्परागत रुपमा भ्यागुतालाई भोजन गराउने यहाँको प्रचलनलाई स्थानीय नेवारी भाषामा ब्याँजा नकः वनेगु भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.