एकमहीने गुँला पर्व सम्पन्न
भक्तपुर, २६ भदौ : एक महीनासम्म मनाइने धार्मिक गुँला पर्व आज सम्पन्न भएको छ ।
परापूर्वकालदेखि शाक्य, बज्राचार्य, मानन्धरलगायतका समुदायले मनाउने सो पर्व गत साउन २७ गतेदेखि शुरु भएको थियो । यो पर्व गुँलाथ्व पारु (साउन शुक्ल परेवा)देखि शुरु भएपछि यँलाथ्व पारु (भाद्र शुक्ल परेवा) सम्म एक महीनासम्म विभिन्न धार्मिक तीर्थस्थलमा जाने र धार्मिक कार्य गरेर मनाइएको छ ।
यो पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिने, एक महीनासम्म व्रतालुले नुन नखाई एक छाक मात्र खाने र पर्व अवधिभर बिहान–बेलुका पूजाअर्चना गर्ने प्रचलन रहेको छ । दर्शन गर्न जाँदा विभिन्न बाजागाजा बजाएर स्लोक मन्त्रोचारण गरेर मठमन्दिर, चैत्य, विहार परिक्रमा गर्ने गरिन्छ ।
गुँला पर्व भक्तपुर, काठमाडौँ, ललितपुर, कीर्तिपुर र मध्यपुर थिमिमा पनि यस्तै प्रक्रियाबाट मनाउने परम्परा छ । थिमिका प्रजापति समुदायले निकालेको गुँला बाजासहित धार्मिक यात्रा गर्ने क्रममा अन्तिम दिन ललितपुरको बुङ्गमति, कार्यविनायक, खोकना, चोभारको जलविनायक, आदिनाथको यात्रा गरी सम्पन्न भएको मध्यपुरथिमिका दिनेश घजुँले जानकारी दिनुभयो ।
यो पर्व बौद्धमार्गीअन्तर्गत पनि बज्रयानी नेवार समुदायले आ–आफ्नो क्षेत्रमा रहेको चैत्यको बाजागाजासहित पूजाआजा गरी मनाउने गर्दछन् । यो अवधिमा उपत्यकाका बज्रयानी नेवारहरु आ–आफ्नो टोलको समूहसहित बिहान सबेरै स्वयम्भू महाचैत्य, बौद्ध चैत्य र विभिन्न विहारमा रहेका चैत्य दर्शन गर्दछन् ।