गुह्येश्वरी जात्राका क्रममा तलेजुको क्षमा पूजा

काठमाडौँ, ७ मङ्सिर : तलेजु भवानीकी बहिनीका रुपमा चिनिने गुह्येश्वरीको जात्राअन्तर्गत मार्गशीर्ष कृष्ण एकादशीका दिन वसन्तपुरमा क्षमा पूजा गरिएको छ ।

जात्राका लागि गुह्येश्वरी लगिएको तलेजु भवानीलाई शुक्रबार गुरुजुको पल्टनले वसन्तपुर फर्काएको थियो । वसन्तपुर फिर्ता गरेपछि आज हाँसको बलिसहित क्षमा पूजा गरी देवीलाई पहिले राखिएकै स्थानमा राखिएको पशुपतिनाथ अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिनुभयो ।

तलेजुका पुजारी मार्गशीर्ष कृष्ण सप्तमीका दिन गुह्येश्री गई बास बसेपछि जात्राको विधि शुरु हुन्छ । अष्टमीमा तलेजुका पुजारीले गुह्येश्वरी देवीको पूजा गर्छन् । नवमीमा तलेजु भवानीलाई माथिबाट निकाली तल राखिन्छ । यसैदिन गुह्येश्वरीमा लिङ्गो ठड्याइन्छ । तलेजु भवानीलाई लिन गुह्येश्वरीका स्थानीयवासी वसन्तपुर आउछन् ।

तलेजुलाई गुह्येश्वरी लगेपछि रातभर दुवै दिदीबहिनीलाई सँगै राखी रातभर पूजा आजा गरिन्छ । दशमीका दिन पशुपति क्षेत्रका विभिन्न स्थानमा दुवै रथ घुमाइन्छ । त्यसैदिन बेलुकी तलेजुलाई वसन्तपुर लगिन्छ । आज क्षमा पूजा गरेपछि तलेजुलाई माथि अर्थात् पहिले राखिएकै स्थानमा राखिन्छ ।

बालाचतुर्दशीका दिन तलेजुका पुजारीलाई गुह्येश्वरीबाट बिदाइ गरेपछि करीब आठ दिन लामो गुह्येश्वरी जात्रा सकिने परम्परा रहेको काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष दीनेश डङ्गोलले बताउनुभयो । प्रताप मल्लका पालादेखि यो जात्रा शुरु भएको हो । मल्लका काजीका रुपमा काम गरेका नवमी भारोले जात्राको शुरुआत गरेको अभिलेख पाइएको प्रदेशसभा सदस्य नरोत्तम वैद्यले जानकारी दिनुभयो । जात्रा चलाउन उनैले गुठी राखेका थिए । त्यसबेला गुह्येश्वरीको मन्दिर बनिसकेको थिएन । यहाँ कुण्ड नै थियो । हाल गुठी संस्थानले यो जात्रा चलाउने गरेको छ ।

महादेवले सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा गुह्य पतन भएकाले गुह्येश्वरी नाम रहन गएको पौराणिक मान्यता छ । मन्दिरमा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको भीड लाग्ने गर्छ ।

गोपालप्रसाद पण्डितका अनुसार तलेजु भवानीको आकृति (मूर्ती)लाई वाजागाजाका साथ प्रत्येक वर्ष गुह्येश्वरी मन्दिरमा ल्याउने परम्परा रहिआएको छ । एकरात भवानीको कलशसँगै राखिन्छ र संयुक्त रुपमा पुजा गरिन्छ । विहानको नित्यपूजा सकिएपछि गुठीका गुठियारहरुले तान्त्रिक विधिअनुसार दिनभरलगाएर पुजा गर्दछन् । साँभmपख भावनीलाई श्रृङ्गारपटार गरी रथमा राखिन्छ । सम्पूर्ण विधिविधान सकिएपछि वाजागाजाका साथ केहिक्षण रथलाई नचाएर) विदागर्ने चलन चलि आएको छ । गुजेश्वरी भवानीलाई दिदी र तलेजु भवानीलाई वहिनीको प्रतिमूर्तिमानी दुईवहिनीको भेटगराउने गरिएको जनविश्वास रहेको छ । लामो समयसम्म (एकवर्ष) भेटगर्न नपाएका दुईवहिनी बीच रातभर संगैबसेर दुःखसुखका कुराहुनेगर्छ । न्यास्रोपन मेटिनेगरी संगै रहन्छन् र अर्कोसाल भेट्नआउने वाचा गर्दै फर्किन्छिन् भन्ने धार्मिक र सामाजिक मान्यता रहेको छ ।

मंसीर महिनामा मनाइने यो जात्रा अघिल्लो दिनको राती ८ बजेतिर ल्याउने गरिन्थ्यो । भोलिपल्ट फर्काउने दिनपनि करिब रातको १० बजेतिरमात्र विदागरेर पठाइने चलन छ । म र मजस्तै सानासाना केटाकेहीहरु गाउँका अग्रज दाजृुहरुका पछिलागेर जाने गर्दथ्यौं । तिहारको रमझम सकिने वित्तिकै पात्रोपल्टाएर मंसिर महिनाको तिथिमिति खोज्नेगर्दथ्यौं । महिनौं अघिदेखि औंला भाँच्दै दिनगन्ति सुरु गर्दैगर्दा जात्रा आइपुग्थ्यो । जात्राआएर सकिएको धेरैलाई थाहा पत्तै हुँदैनथ्यो । बागमति फाँट, गौरीघाट फाँट, पम्वुफाँट (अरुणिमा स्कूल)भन्दा माथिका डिलहरुमा मात्र गाउँवस्तिहरु थिए । तल्लो समथर फाँटमा धान गँहु, आलु काउली, लसुन प्याज आदि खेतिगरिने भएकाले त्यहाँ गाई साँडे रुङ्ने छाप्रो मात्र हुनेगर्दथ्यो । जाँहा हरियाली त्यहाँ जीवन भनेझैँ चारैतिर हरियाली मात्र देखिन्थ्यो । तान्त्रिक विधिबाट भवानीको पूजा गर्ने परम्परा अनुसार कर्माचार्य थरीका मानिसहरु मन्दिरका पुजारी थिए । पुजारी परिवारहरु मन्दिरको नजिकै रहेको धर्मशालामा बस्नेगर्दथे केही परिवार वागमति पारिपट्टि रहेको कुमारीगाल गाउँमा घरबनाइ बसेका थिए ।

गुह्येश्वरी जात्रालाई हर्षोल्लासपूर्वक मनाउन लालायित यस क्षेत्रका मानिसहरु सँधैँ वन्चित हुन्थे । रातको समयमा जात्रा हेर्न जान उनिहरुलाई सम्भव थिएन । विशेषगरि वृद्ध वृद्धा महिला र केटाकेटीहरुलाई हात्ति आयो हात्ति आयो फुस्सा भनेझै हुने गर्दथ्यो । कुनै पनि जात्रा धर्म संस्कृति र ऐतिहासिक परम्परासँग अभिन्न रुपमा जोडिएको हुन्छ । यस्ता परम्पराहरुको जगेर्ना गर्दै समयसापेक्ष यसलाई परिमार्जन गर्दै लानसके संस्कृतिको जग् मजवुत हुँदैजाने गर्दछ । संस्कृतिको निर्माण समाजले गरेको हुन्छ र यसको संरक्षण र विकाश पनि समाजले नै गर्ने गर्दछ । सबै जातजाती र उमेर समुहका महिला पुरुष सवैको समिश्रण रहेको गाउँ वा वस्तिका नागरिकहरुलाई नै पूर्ण समाज मानिने गरिन्छ । यिनीहरुको अभिन्न अंगको रुपमा जोडिएको जात्रा पर्व लगायतका चाडवाडहरुले सवैको सक्रिय सहभागिताको माग गरिरहेको हुन्छ । उनीहरु सहभागी हुने परिस्थिति रहेन भने कुनै पनि जात्राको अर्थ रहँदैन । तिनीहरुका लागि आकाशको फल आँखातरी मल भनेझैँ हुनेगर्छ । यसरी हेर्दा यसक्षेत्रका वृद्ध वृद्धा महिला केटाकेटीहरुलाई गुह्येश्वरी जात्रा यस्तै हुने गर्दथ्यो । औँला भाँच्दै दिन गन्ति गरेर बस्नेहरु मध्ये हामी केटाकेटी युवा तन्नेरीहरु पनि प्रशस्तै हुनेगर्थे । उनीहरु गुजेश्वरी जात्रालाई अवसरको रुपमा हेरिरहेका हुन्थे । जात्रा पर्वको अलावा सडक नाटकहरु वार्षिक रुपमा टोलटोलमै हुने गर्दथ्यो । नेवारी भाषामा सम्वाद बोलिने ती नाटकहरु हेर्न टाढाटाढा देखिका युवाहरुको उपस्थिति रहन्थ्यो ।

यस क्षेत्रमा हुने मुख्य जात्राहरुमा बौद्धको रोपाइँ जात्रा र तिमाल जात्रा, देउपाटनमा हुने खड्गजात्रा, रोपाईं जात्रा, त्रिशुलजात्रा, गंगामाई जात्रा, वच्छलेश्वरी जात्रा, चावहिलको गणेश भैरवको जात्रा, हाँडीगाउँको गहना खोज्ने जात्रा, नक्साल भगवती जात्राहरु यस क्षेत्रका विशेष महत्व राख्ने जात्राहरु हुन् । वर्षैपिच्छे यी जात्रा पर्वहरुमा युवाहरुको उपस्थिति बाक्लै रहनु स्वभाविक हुने नै भयो । महिला र केटाकेटीको उपस्थिति पातलै रहने यी जात्राहरुमा युवाहरुको भूमिका निर्णायक रहने गर्दछ । रथहरुलाई नचाउने कुदाउने र टाढाको अर्को गन्तव्यसम्म पु¥याउने कार्यमा उनिहरुको भूमिका अनिवार्य रहेको हुन्छ । आवश्यकता र औचित्यताले युवाहरुको माग गर्ने हुनाले स्वभाविक रुपमा उनीहरुको उपस्थिति बाक्लै रहने गर्छ ।

काठमाडौको शहरी क्षेत्रमा मनाइने जात्राहरुमा प्राय सबैजसो साँझपख मात्र सुरु हुने गर्दछ । बौद्ध र देउपाटनमा हुने रोपाईं जात्रा मात्र दिँउसो अपरान्हतिर सुरु भएर साँझपख सकिने गर्दछ । गुजेश्वरीजात्रा हेर्न आउने प्रायजसोले (महिला र केटाकेटीवाहेक) सोमरसको सेवन गरेर आएका हुन्छन् । यी मध्ये झगडालु स्वभाव भएका युवाहरु घरेलु हतियारसहित दलवल बाँधी आएका हुन्छन् । सोम्सरको उर्जाले आवश्यकताभन्दा बढी सक्रिय बनाउने भएकोले साना ठूला झगडाहरु प्रायजसो प्रत्येक वर्ष हुनेगर्छ । टोलटोलका युवाहरुका बीचमा हुने गरेको भेदविभेद वा मूर्ख प्रकृतिका मानिसहरुबाट सिर्जित असहज परिस्थिति र घमण्डले प्रमुख भूमिका खेलिरहेको हुन्छ । गुह्येश्वरी जात्रा मनाउन आउने युवाहरुको जमात पनि ठुलै हुन्थ्यो । बौद्ध–टुसालतिरबाट आउने युवाहरु परिआए सबैलाई तहलगाई दिने मानसिकता बोकेर आएका हुन्थे । यसैगरी चावहिल देउपाटन, नवालिटोल र अर्को छिमेकी टोल नक्साल लगायतका टोलहरुबाट पनि दलवल साथ आएका हुन्थे ।

जात्राको दिन घाम अस्ताउनु अघिसम्म सुनसानदेखिने मन्दिर परिसर साँझपख भएपछि एकाएक जात्राको रौनक सुरुहुन थाल्दछ । विहानैदेखि विभिन्न टोलहरुबाट पुजाथाली लिई आउने गुठियारहरुले पूजा सकेर भोज खानेतिर तल्लिन हुन्छन् । उनीहरु खेतका फाँटहरु र बागमतिका बगरतिर बसेर भोजखाइरहेका देखिन्छन् । विभिन्न टोलीहरुमध्ये चावहिल बहालक्षेत्र तिरबाट आउनेहरुको सहभागिता बढी देखिने गर्दथ्यो । झमक्क साँझ पर्दासम्म उनीहरु भोजमै रमाईरहेका हुन्थे । भोजबाट तृप्त भएपछि मन्दिर परिसरमा प्रवेशगर्ने क्रम सुरुहुन्छ । यसैगरी सबैतिरबाट जम्माहुने क्रममा मानिसहरुको भिडले एकैछिनमा मन्दिर प्राङ्गण खचाखच भरिन्छ ।

गुठियारहरु मन्दिर परिसरमा जम्मा हुने क्रमसँगै विभिन्न थरिका वाजागाजाहरु बज्न थाल्दछन् । विशेषगरी धिमेवाजा, पन्चेबाजा, कुस्लेबाजा र नायवाजा गरी थरिथरिका वाजाहरु घन्कन्छन् । एकैछिनमा मन्दिर परिसर भित्रबाहिर सबैतिर जात्राको रौनक सुरु हुन्छ । धिमेवाजाको तालमा नाचिने ज्यापुनाच नाच्नेहरु अति रौसिएर नाच्ने गर्दछन् । उनीहरु नाच्दै गर्दा आफ्नो शरिरलाई अर्धचन्द्राकार बनाएर फन्का मारिमारि नाच्ने गर्दछन् । चराले पँखेटा फिँजारेर कावाखाएझै गरी दुवैहात फिँजाएर नाच्ने गर्दछन् । यस नाचमा कस्ले बढी राम्रो नाच्न सक्छ भन्ने एकखाले प्रतिष्पर्धा हुनेगर्दथ्यो । समूह–समूहमा विभाजित भई नाचिने यो नाचमा धिमेवाजाले नेतृत्व गरिरहेको हुन्छ । नेवारी संस्कृतिको मौलिक परम्परा अनुसार यो नृत्य अतिनै कलात्मक र मनमोहक लाग्ने गर्दछ । यस बीचमा मन्दिरका पुजारी आचाजुलेभित्र बसेर तान्त्रिक विधि अनुसार मन्त्रहरु पढ्दै पुजा गरिरहेका हुन्छन् ।

विवाह मण्डपबाट अन्माएर घर पठाउन लागेकी दुलहीलाई झैँ तलेजु भवानीलाई अन्माउने तरर्खर हुन्छ । खट्लाई श्रृङ्गार गरी धजापताकाहरुले सुसज्जित पारिन्छ । भवानीको रथ लिई आउने गुठियारहरु सकेसम्म छिट्टै अन्माएर लानपाए हुन्थ्यो भनेर हतारमा देखिन्छन् । दुई बहिनीलाई संगै राखेर विदाई पूजा गरिरहेका आचाजुले पूजा सकिएको जानकारी दिएपछि खट् उठाउने तरखर सुरु हुन्छ । भवानीको प्रतिमूर्ति (कलसलाई) सिंगारेर राखेको खट्भित्र ल्याएर राखिन्छ । खट् उठाउनु पूर्व शार्दुलजङ्ग गणका (गुरुज्यूका) पल्टनले तोप पड्काएर सलामी अर्पण गर्छन् र खट्लाई उठाएर परिक्रमा गराउने क्रम सुरु हुन्छ ।

तलेजु भवानीको खट्लाई तिन पटकसम्म मन्दिरको परिक्रमा गराईसकेपछि सहरीया गुठीयारहरु खट्लाई लिईहिँड्ने हतारो गरिरहेका हुन्छन् । यता स्थानीय युवाहरु सकेसम्म धेरै समयसम्म रथलाई नचाइ राख्ने प्रयास गरिरहेका देखिन्छन् । एक किसिमको द्वन्द्वको वातावरण भएता पनि दर्शकहरु चाहीँ रमाईलो मानी जात्रा हेरिरहेका हुन्छन् । यतिबेला जात्राको भव्यताले उत्कर्षको सिमालाई छिचोलिरहेको हुन्छ । विभिन्न टोलहरुबाट जात्रा हेर्न जम्मा भएका युवाहरुको विचमा एक प्रकारको अन्तरद्वन्द्व चलिरहेको हुन्छ । एक अर्का पक्षसँगको पुरानो रिसको बदला लिने दाउ हेरेर बसिरहेकाहरुका बीच हानाहान पिटापिट गर्न थाल्छन् । केही क्षणको भिडन्त पछि एउटा पक्ष हावी हुन्छ र उसले दुईचार लात पाँचसात मुक्का वर्षाउँछ । कुटाइखाने पक्षले पराजयलाई स्वीकार्दै मैदानबाट एकाएक गायब भईदिन्छ । मौका ढुकेर बसिरहेका गुठियारहरुले यति बेलै खटलाई आफ्नो कब्जामा लिई सुँइकुच्चा भगाएर बागमति कटाउँछन् । अनि गुजेश्वरी जात्रा समाप्त हुन्छ ।

पुरानै रीतिरिवाज र परम्परागत शैलीबाट चल्ते चल्ते हुँदै आएको यस जात्राको प्रहशनमा २०७१ साल यता आएर जात्राको परम्परागत शैलीलाई परिस्कृत गरिएको छ । गुजेश्वरी जात्राको संस्कृति र समाजिक महत्वलाई अझै उजिल्याउने कामको थालनी भएको देखिन्छ । गुह्येश्वरी प्राङ्गणबाट रथलाई तल ओरालेपछि सरासर देवपत्तन पु¥याएरमात्र बिसाउने गरिन्थ्यो । हिजो आज पुरानो परम्परागत शैलीलाई क्रम भङ्ग गर्दै गौरीघाटचोकमा ल्याएर बिसाउने प्रथाको शुभारम्भ भएको छ । यस प्रकारको परिवर्तन आफैँ भएको छैन, गौरीनगर क्षेत्रमा बसोवास गरी बस्ने आम जनताको चाहना र हस्तक्षेपले गर्दा सम्भव भएको हो । उनीहरुको भनाई थियो, आफ्नो ढोकै अगाडिबाट लगिने गरेको भवानीको रथ यात्रालाई हामी सबैले पूजाआजा गर्न किन नपाउने ? सबैले यो अवसर पाउनु पर्छ । आफ्नो धर्म र संस्कृति प्रतिको अगाध श्रद्धा र विश्वास अनि प्रयासबाट गौरीनगरवासीले यो अवसर प्राप्त गरेका छन् । विगत तीन वर्षदेखि भवानीको रथलाई गौरीघाट चोकमा ल्याई नगरवासी सबैले पूजा प्रार्थना गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.