उपोषथ व्रत जीवन्त धरोहर
गौतमबुद्ध बज्राचार्य काठमाडौँ, १९ कात्तिक : कला र संस्कृतिका धनी बज्रयान बौद्ध धर्मावलम्बीको मूर्त साँस्कृतिक सम्पदाका साथै अमूर्त सम्पदाको रूपमा मुखः अष्टमीका दिन मनाइएका अमोघपास लोकेश्वर (करुणामय) को उपोषथ व्रत पनि जीवन्त धरोहरका रूपमा रहँदै आएको छ ।
बौद्ध धर्ममा हरेक व्यक्तिले काय, वाक र चित्त शुद्ध गरी बुद्धत्व प्राप्त गरी मोक्ष प्राप्त हुन सकिन्छ भन्ने धार्मिक विश्वास छ । भगवान बुद्धले भारतको बुद्धगयामा बुद्धत्व प्राप्त गर्नुभएको थियो । गृहस्थमा बसेका बौद्ध धर्मावलम्बीले पनि उपोषथ व्रत बसेर बुद्धत्व प्राप्त गर्न सकिन्छ भन्ने धार्मिक विश्वासका कारण काठमाडौँ उपत्यकाका विभिन्न विहारहरुमा उपोषथ व्रत बस्ने प्रचलन धेरै वर्षदेखि रहँदै आएको छ । यस्तो उपोषथ व्रत तारा, लोकेश्वर, बसुँधरा देवी आदिको उपोषथ व्रत बस्ने गरेको पाइन्छ । यसरी उपोषथ व्रत बस्ने बौद्ध धर्मावलम्बीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
नेपाल संवतअनुसार कछलाथ्व अष्टमी ११४० मा मुखः अष्टमीको अवसर पारेर काठमाडौँको प्रसिद्ध श्रीखण्डमूल महाविहारमा ४८ जना वृद्धवृद्धादेखि बालिकासमेत करुणामय (अमोघपास लोकेश्वर) को उपोषथ व्रत बसेका छन् । बौद्ध धर्ममा मुखः अष्टमीको ठूलो महत्व छ । मुखः (पाँच जना बुद्धको चित्र भएको मुकुट) अष्टमीका दिन पशुपतिनाथ मन्दिरमा भगवान बुद्धको मुखः (पाँच जना बुद्धको चित्र भएको मुकुट) पशुपतिनाथलाई पहि¥याई पूजा अर्चना गरिन्छ ।
विहारका अगुवाहरु श्याममान बज्राचार्य, दिनेशराज बज्राचार्य, गौतम बज्राचार्य आदिको अगुवाइमा सञ्चालित उपोषथ व्रतमा यसपटक ४८ जनाको सहभागिता रहेको छ । अघिल्ला वर्षहरुमा १४ जनाबाट व्रत शुरु भएको थियो । श्रीमान–श्रीमती (दम्पत्ती) तथा कम उमेरकाले पनि व्रत बस्न सकिने तर स्थान अभावले धेरै इच्छुक व्यक्तिहरुलाई पनि सहभागिता गराउन सकिएको थिएन । यस वर्ष सबैभन्दा कम उमेरका प्रतिष्ठा बज्राचार्य पनि ब्रत बस्नुभएको छ ।
दिपङ्कर तथागतको समयदेखि उपोषथ व्रत बस्दै आएको धार्मिक विश्वास छ । बज्रयान बौद्ध धर्मअनुसार उपोषथ व्रत सबैभन्दा ठूलो व्रत हो । देवकालमा धेरै बोधिसत्वहरुले पनि पहिलो पटक उपोषथ ब्रत बसेका थिए र बोधिज्ञान प्राप्त गरी बोधिसत्व भएका थिए । दिपङ्कर तथागतको समयमा सुमेरु नाम गरेका ऋषिले आफनो शरीरलाई दुःख दिएर लामो तपस्या गर्दा पनि मोक्ष प्राप्त गर्न नसकेपछि भविष्यमा कसरी बुद्धत्व प्राप्त गर्न सकिन्छ भनेर दिपङ्कर तथागतलाई आग्रह गर्दा उपोषथ व्रत बस्न धर्मदेशना गर्नुभएको बौद्ध विद्वान मन्जुश्रीरत्न बज्राचार्यले धर्मदेशनाका क्रममा भन्नुभयो ।
बज्रयान बौद्ध धर्मअनुसार करुणामय उपोषथ व्रतमा बुद्धमण्डल, धर्ममण्डल तथा सङ्घमण्डलको विशेष पूजा गरिन्छ । व्यक्तिले काय (शरीर), वाक (वचन) तथा चित्त(मन)लाई एकाग्र गरी आफूलाई सम्पूर्णरूपमा करुणामयको प्रतिमूर्ति मण्डलमा समर्पित गरी बुद्ध, धर्म र सङ्घको शरणमा जानुपर्ने बौद्ध विद्वान बज्राचार्यको भनाइ छ । पूजाको प्रारम्भमा तथागत शास्ताहरु वैरोचन, अक्ष्योभ्य, रत्नसम्भव, अमिताभ तथा अमोघसिद्धीलाई बुद्धमण्डलमा आह्वान गरिन्छ ।
बुद्धमण्डलको पूजापछि धर्ममण्डलको पूजा गरिन्छ । बुद्धधर्ममा त्रिरत्नको रूपमा रहेको बुद्ध, धर्म र सङ्घको शरण जान्छु भनी उपोषथ व्रत बस्नेले सङ्कल्प गर्नुपर्छ । धर्ममण्डलमा बौद्ध धर्मका प्रसिद्ध नौ वटा ग्रन्थलाई पूजा गरिन्छ । प्रज्ञापारमिता, गण्डव्यूह, दशभूमिश्वर, समाधिराज, लङ्कावतार, सद्धर्मपुण्डरिक, सुवर्णप्रभात, ललितविस्तर तथा गुह्य समाजतन्त्रको पुजा पाठ गर्ने प्रचलन रहेको बौद्ध विद्वान् बज्राचार्यले बताउनुभयो । त्यसपछि सङ्घमण्डलको पूजा हुन्छ । सङ्घमण्डलमा नौ जना बोधिसत्व विराजमान भएका हुन्छन् ।
आफ्नो शरीरको प्रतिनिधि काय (आफनो शरीरको माध्यमबाट अरुलाई हानी नगर्ने ), वाक (वचन अर्थात बोलीको माध्यमबाट नराम्रो वचन बोलेर अरुको मन नदुखाउने ) र चित्त (मनमनै पनि अरुको अहित हुने विचार उत्पन्न नगर्ने ) एकाग्र गरी शरीरका यी तीन संयोजनलाई मण्डपमा विराजमान गराई गरिने पूजाको उद्देश्य संसारका सबै प्राणीको जगत्तोद्धार गर्नु हो ।
बज्रयान बौद्धधर्ममा गृहस्थमा बसेका हरेक व्यक्तिले काय, वाक र चित्तको परिशुद्धिका साथै पञ्चशीलको पनि पालना गर्नुपर्छ । भिक्षुहरुले अष्टशील तथा दशशील पनि पालना गर्ने गरेको जानकारी बज्राचार्यले दिनुभयो । एकाग्रताले व्यक्तिमा उत्पन्न हुने नराम्रो विचार र भावनाको अन्त हुन गई कुशल(सक्षम) विचार वा चित्त(मन) उत्पत्ति भई राम्रो कार्य गर्न सदा उत्प्रेरित गर्दछ ।
नेपाल मण्डलको महायान बज्रयान परम्परामा पूजा गर्दा सम्यक सम्बोधी मार्गमा मार्गस्थ हुन भवचक्रको (जन्म मरणबाट मुक्ति) ज्ञान प्राप्त गरी शरीर, वचन र चित्तबाट हुने दश अकुशलवादी (खराब काम) कर्मबाट मुक्त हुने विश्वास छ । यसबाट व्यक्तिमा मैत्री, करुणा, मुदिता (अरुको प्रगतिमा खुशी हुने) र उपेक्षा भाव पैदा भई सम्यक सम्बोधी मार्गमा प्रशस्त हुने जनविश्वास छ ।
नेपाल मण्डलमा लिच्छवी, मल्ल तथा आधुनिककालसम्म आउँदा काठमाडौँ उपत्यकामा मन्दिर, सत्तल, पाटी, पौवा, भाषा, साहित्य, कला, जात्रा, चाड पर्वजस्ता मूर्तअमूर्त सम्पदाको विकास भएको थियो । नेपालको अमूल्य साँस्कृतिक धरोहरका रूपमा विश्वप्रसिद्ध मूर्त सम्पदाका साथै उपोषथ व्रतजस्ता अमूर्त सम्पदा पनि प्रसिद्ध छन् ।
