कथाव्यासलाई आधिकारिक प्रमाणपत्रको व्यवस्था गर्न माग
काठमाडौँ, ८ कात्तिक : चिकित्सक, इञ्जिनीयर, कानून व्यवसायीलगायत पेशाकर्मीलाई जस्तै कथाव्यास पण्डितहरुलाई पनि आधिकारिक प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरिएको छ ।
हिन्दू जागरण नेपाल, नेपाल पञ्चाङ्ग निर्णायक समिति, विद्वत् परिषद् नेपाल, नेपाल सन्त समाजलगायत संस्थाको आयोजनामा आज आयोजित एकदिने कथाव्यास सम्मेलन उद्घाटन समारोहका वक्ताले सो माग गर्नुभएको हो । कार्यक्रममा नेपाल सन्त समाजका पूर्वअध्यक्ष एवं गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरीले आधिकारिक संस्थाले प्रमाणपत्र दिएको पण्डितले मात्र कर्मकाण्ड, कथावाचनलगायत धार्मिक काम गराउन पाउने व्यवस्था गरिनुपर्ने बताउनुभयो ।
“को पण्डित हुन् भन्ने परीक्षा लिएर आधिकारिक प्रमाणपत्र दिइनुपर्छ, एउटा सानो व्यवसाय गर्नेले पसल दर्ता गरेर स्थायी लेखा नं. लिनुपर्छ, वार्षिक रुपमा आयकर तिर्नुपर्छ, तर समाजका अगुवा भनिने पण्डितले कही दर्ता हुनु नपर्ने ?”, उहाँले भन्नुभयो ।
ज्योतिषीले चिना टिप्पन मिलार्ई पण्डितले विवाह गरेपछि पतिपत्नीबीच सम्बन्ध विच्छेद हुने गरेका घटना सुनाउनुहुँदै आत्मानन्द गिरीले चिना हेर्ने र विवाह गराउनेलाई कारवाही हुने व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।
महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरीले समाजका लागि वार्षिक अर्बौ परोपकारका लागि उठाउने कथाव्यासलाई व्यवस्थित गर्ने गरी आधिकारिक संस्था स्थापना हुनुपर्ने बताउनुभयो । यस्तो संस्थाले कथाव्यासलाई व्यवस्थित एवं शास्त्रसम्मत रुपमा अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । पण्डित आफैँ आचरणमा नबसे उनका कुरा कसैले नमान्ने भएकाले कामअनुसार आचरण बनाउन रमणनान्द गिरीले आह्वान गर्नुभयो ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका प्रा भवानीप्रसाद खतिवडाले चार सूत्रीय आधारपत्र प्रस्तुत गर्नुहुँदै श्रुति र स्मृतिमा प्रतिपादित सदाचार नै मुख्य धर्म भएकाले कथाव्यास एवं पण्डितले त्यसको पालना गर्नुपर्ने बताउनुभयो ।
आधारपत्र माथि टिप्पणी गर्नुहुँदै वाल्मीकि विद्यापीठका प्रा डा देवमणि भट्टराईले शास्त्रले निर्देश गरेअनुसार नचल्ने पण्डित एवं कथावाचकलाई सामाजिक रुपमै बहिष्कार गरिनुपर्ने विचार राख्नुभयो । कार्यक्रममा परिषद्का सह प्रा डा माधवप्रसाद पाण्डेय, पञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेल, आयोजक समितिका अध्यक्ष रामकृष्ण उपाध्याय लगायतले शास्त्रीय मर्यादामै नरही गरिने कर्मले कुनै फल नदिने भएकाले त्यसतर्फ सचेत रहन कथाव्यसाहरुलाई आह्वान गर्नुभयो ।
एकदिने सम्मेलनमा सातै प्रदेशका करीब ४०० कथाव्यास एवं पण्डितहरुको सहभागिता छ । उद्घाटन सत्रपछि प्रदेशगत रुपमा कथाव्यास एवं पण्डितका समस्या एवं समाजमा पु¥याउनुपर्ने योगदानका बारेमा समूहगत रुपमा छलफल भइरहेको अध्यक्ष उपाध्यायले जानकारी दिनुभयो ।
यसअघि पञ्चाङ्ग निर्णायक समितिले कथाव्यास, पण्डित, ज्योतिषी, पञ्चाङ्गकार लगायतलाई नियमन गर्न परीक्षा लिई प्रमाणपत्र दिने, शास्त्रविरुद्धका काम गरे प्रमाणपत्र खारेज गरी काम गर्न नदिनेलगायत व्यवस्थासहित मस्यौदा गरी पठाइएको कानून संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमै हराएको सहभागीको गुनासो थियो ।
