बज्रयान बौद्धधर्म–धर्मदेशना
काठमाडौँ, २७ असोज : काठमाडौँका बौद्ध धर्मावलम्बीले नेपाल संवत्अनुसारको कतिपुन्हीका अवसरमा नाम सङ्गीति सूत्र वाचनका साथै धर्म देशना गरेका छन् । कतिपुन्हीका दिन शाक्यमुनि बुद्धले आफूलाई जन्म दिने महारानी मायादेवीको गुणलाई स्मरण गरी त्रायत्रिंसती भुवन देवलोकमा जानु भई तीन महीनासम्म अभिधम्म देशना गर्नुभएको बौद्ध धर्मावलम्बीको विश्वास छ ।
यस उपलक्ष्यमा काठमाडौँको श्रीखण्ड मूल महाविहारमा बौद्धस्तोत्र पाठ गर्नुका साथै बौद्धगुरुबाट धर्मदेशना गरियो । विहारमा थुप्रै बौद्धगुरुले स्त्रोत्र वाचन गर्नुभएको थियो । सो अवसरमा नेपाल बज्रयान महासङ्घका अध्यक्ष बौद्धविद्धान राजेन्द्रमान बज्राचार्यले धर्मदेशना गर्दै बज्रयान बौद्धधर्ममा कतिपुन्हीको महत्व तथा बौद्धधर्ममा पञ्चरश्मीको प्रादुभावमाथि प्रकाश पार्नुभयो । उहाँले बुद्धको आमा मायादेवीलाई शाक्यमुनि बुद्धबाट अभिधर्म धर्मदेशना भएको दिन भएकाले यो दिन बौद्ध धर्मावलम्बीका लागि पवित्र दिन भएको उल्लेख गर्नुभयो ।
बौद्धग्रन्थ प्रज्ञापारमितामा चित्त विज्ञानको उल्लेख गरिएको बताउँदै मानव जातिमा चित्तशुद्ध भएमात्र प्राणीको हित र प्रगतिका लागि मानिसलाई अघि बढ्न प्रेरित गर्ने उहाँले बताउनुभयो । उहाँले शाक्यमुनि बुद्ध त्रायत्रिंसती भुवनबाट सङ्कासयमा अवतरण गर्नुभएको आज विशेष दिन हो भन्नुभयो । त्रायत्रिंसती भुवन देवलोकमा भगवान् बुद्धले तीन महीनासम्म अभिधम्म दर्शन तथा बुद्धधर्मको चित्तसम्बन्धी गम्भीर दर्शन ज्ञान दिनु भई भगवान् बुद्ध यस धरतीमा अवतरण गर्नुभएको थियो । आजको दिन अभिधम्म दिवस तथा सङ्कासय दिवसका रुपमा मनाउने परम्परा छ । साथै सम्पूर्ण प्राणीको कल्याणको कामना गर्दै चैत्य, विहार तथा महाविहारमा अभिधम्म सूत्र पाठसँगै विशेष पूजाका साथ दीप प्रज्वलन गरिएको थियो ।
सोही अवसरमा आनन्दकुटी विहार स्वयम्भूमा बुद्धपूजा गरिएको थियो । बौद्धधर्ममा महत्वपूर्ण दिनका रुपमा मानिएको कतिंपुन्हीका अवसरमा आनन्द कुटी विहारमा बुद्धपूजा तथा धर्मदेशना गरिएको हो । आनन्दकुटी विहारमा भिक्षु धर्ममूर्ति महास्थवीरले धर्म देशना गर्दै बुद्धधर्मबाट नै समाजमा भ्रातृत्वभाव कायम गर्ने बताउँदै बुद्धको पञ्चशीलको पालनाबाट मात्र विश्वशान्ति सम्भव हुने बताउनुभयो ।
