श्री राधाकृष्ण रथयात्रा शुभारम्भ

विराटनगर, १८ भदौ : भगवान् श्री राधाकृष्ण रथयात्राको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शुभारम्भ गर्नुभएको छ । विशेष पूजापाठ गरी उल्लासमय वातावरणमा नगर परिक्रमाका लागि निस्किएको सो रथ विराटनगर–१ को पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरको परिसरबाट युगल मूर्तिलाई रथमा राखी सो स्थलबाट अपराह्न ४ बजे रथयात्रा शुरु भएको हो ।

रथयात्रा नगरको तीनपैनी, गोल्छामोड, ट्राफिकचोक, महेन्द्रचोकबाट बरगाछीचोक हुँदै करीब आठ किलोमिटरको दूरी तय गरी सोही मन्दिरको परिसरमा पुगेर रथयात्रा सम्पन्न हुने कार्यक्रम छ । सो अवधिमा रथलाई ४४ स्थानमा विश्राम गराइएने मूल समारोह समितिले जनाएको छ । रथयात्राको मार्गमा पर्ने सडकको दुबै पेटीमा हजारौँ श्रद्धालुका साथै भवनको छत र कौसीबाट रथमाथि फूलका साथै जल अर्पन गरिरहेका देखिन्थे ।

उक्त रथयात्राको अवधिमा विभिन्न मन्दिर एवम् धार्मिक संस्थाका रथ र कलश यात्राका साथै विभिन्न सांस्कृतिक झल्कने दर्जनौँ झाँकी, नाचलगायत प्रदर्शन गरिएको थियो । रथको दर्शन गर्नका लागि आएका श्रद्धालुलाई विभिन्न ठाउँमा सङ्घसंस्था र क्लबद्वारा निःशुल्क रुपमा चिसो पेय पदार्थ वितरण गरिरहेको देखियो । मोरङ, झापा, सुनसरीका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत गरी हजारौँ श्रद्धालुले रथयात्राको दर्शन गर्न आएका छन् ।

रथयात्राका क्रममा हुन सक्ने अप्रिय घटनालाई दृष्टिगत गरी स्थानीय प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएको प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो । यस रथयात्राको अवधिभर नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत गरी एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । दर्शकको अत्याधिक चाप भएका स्थानमा एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।

विसं १९८८ बाट खट (युगल मूर्तिलाई खाटमा राखेर) यात्राका रुपमा शुरु भएको यात्रा विसं २०२५ देखि रथयात्राका रुपमा परिणत भएको हो । निकै सजिसजाउ बनाइएको रथ प्यागोड शैलीको रहने र यसको लम्बाइ २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिटको छ । रथको अग्रभाग जुवाबाट ७५ फिट दायाँबायाँ लामो लट्ठा तान्ने डोरी लगाइएको छ । डोरी तान्न युवायुवतीको तँछाडमछाड गरिरहेको देखियो भने प्रदेश सरकारले आज सुनसरी र मोरङ सार्वजनिक बिदा दिने निर्णय पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.