गौरा पर्वलाई प्रधानमन्त्रीको शुभकामना
काठमाडौं, १८ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका विभिन्न सांस्कृतिक पर्वले नेपालीलाई एकताबद्ध गराउने काम गरेको बताउनुभएको छ ।
प्रदेश नं ७ र कर्णाली प्रदेशमा मनाइने उक्त पर्वका अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले गौरा पर्व नेपालको एक विशिष्ट पहिचान झल्काउने पर्व हो भन्नुभयो ।
नेपालको जातीय र सांस्कृतिक विविधतालाई आपसी द्वन्द्वमा रुपान्तरण गर्ने दुष्प्रयासलाई नेपालीले सधैँ परास्त गर्दै आएको र यस्ता पर्वले सांस्कृतिक एकतालाई थप मजबुत बनाएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । “नेपालका विभिन्न भाषा, संस्कृति, वेषभूषा, रीतिरिवाज र संस्कारले विविधताबीच नै एकता, आपसी सम्बन्ध र सामाजिक सद्भावको सम्मिलन गराएका छन् ।”
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले विकास र समृद्धिका दृष्टिले राज्यबाट ओझेलमा पर्दै आएको प्रदेश नं ७ लाई समुन्नतिको दिशामा अघि बढाउन गौरा पर्वले प्रेरणा दिने बताउनुभएको छ ।
प्रदेश नं ७ तथा कर्णाली प्रदेशमा मनाइने यस पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले पहिचान र सामथ्र्यलाई संविधानमार्फत सुनिश्चित गरी सङ्घीय गणतान्त्रिक नेपालको निर्माणमा गौरा पर्वको महत्व झनै बढेको बताउनुभयो ।
त्यस क्षेत्रको प्राकृतिक तथा सांंस्कृतिक सम्पदाको समुचित विकास गर्न र सम्पूर्ण देशवासीमा आपसी सद्भाव, भाइचारा तथा अपनत्वको भावना वृद्धि गरी समृद्ध नेपालको निर्माणमा यस पर्वको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।
