पञ्चदान मौलिक पहिचान
गौतमबुद्ध बज्राचार्य । काठमाडौँ, ८ भदौ : बौद्ध धर्मावलम्बीहरुको मौलिक पहिचानका रुपमा रहेको पञ्चदान महापर्व मुलुकको ऐतिहासिक दृष्टिले राष्ट्रिय गौरवको पर्वका रुपमा रहेको छ । दीपङ्कर बुद्धको पालादेखि चल्दै आएको मानिएको पञ्चदान पर्व नेपालमण्डलको अहिलेसम्मकै पुरानो पर्व मानिन्छ ।
भगवान् गौतमबुद्धको जन्मस्थल नेपालमा बुद्धधर्मको विकास र उन्नयन शाक्यमुनि बुद्धको जन्मभन्दा पनि हजारौँ वर्षदेखि विकास हुँदै आएको छ । यीमध्ये पञ्चदान महापर्व सत्ययुगमा दीपङ्कर बुद्धलाई पहिलो पटक पञ्चदान गरेको सम्झनामा हरेक वर्ष काठमाडौँसहित नेपालका विभिन्न जिल्लामा बौद्ध धर्मावलम्बीहरु यो पर्व मनाउँदै आएका छन् । यो नेपालको इतिहासमा निक्कै पुरानो मौलिक संस्कृतिका रुपमा रहेको छ ।
‘नभकृष्ण त्रयोदस्या युगादौ देव पूजन । कवाथपिवे ततोदानं बौद्धाचाराय दीयते ।।’ गुँलागा त्रयोदशी अर्थात् श्रावण कृष्ण त्रयोदशीका दिन नेपाल संवत्को तिथिअनुसार युगचह्रे पनि हो । युगचह्रेका दिनलाई कलियुगको उदय भएको दिनका रुपमा पनि लिइन्छ । यो दिन दीपङ्कर बुद्ध र बुद्धधर्मलाई ग्रहण गर्दै आएका बज्रयान बौद्ध धर्मावलम्बीहरु तथा धर्ममा आस्था भएका बज्राचार्य, शाक्यहरुलाई पिण्डपात्र, धान, केराउ, सिसाबुसा, दक्षिणा आदि दान दिने गरिन्छ । यो कुरा मन्त्रसिद्धि महाविहारका बौद्धविद्वान रत्नकाजी बज्राचार्यले लेख्नुभएको ‘गुँला धर्म’ नामक पुस्तकमा उल्लेख छ ।
यो दिन काठमाडौँ र भक्तपुरमा पञ्चदान गरिने परम्परा भए पनि ती जिल्लामा आ–आफ्नै मौलिक तरिकाले पञ्चदान गर्ने प्रचलन रहँदै आएको छ । पञ्चदानको अघिल्लो दिन बौद्ध धर्मावलम्बीको घरभरि शुद्धाशुद्धि तथा स्नान गरी दीपङ्कर बुद्ध तथा अन्य बुद्धहरुको मूर्ति, तस्बीर तथा पौभाचित्र घर तथा विशेष रुपमा सजाइएका कोठामा सजाएर प्रदर्शन गरिन्छ । यसरी विशेष कोठामा बुद्धका मूर्तिलाई सजाएर राख्ने प्रचलनलाई नेपाल भाषामा द्यःब्वय्गु भनिन्छ । देउताका मूर्ति तथा पौभा सजाउँदा सकेसम्म विशिष्ट ढङ्गले राम्रो बनाई सिसाबुसा(फलफूल), मह्रीचह्री आदि राखिन्छ । पञ्चदान गुथी भएका बौद्ध धर्मावलम्बीले द्यःब्वया पञ्जराँ जा (क्षीर) पकाउँछन् । त्यसैले यो दिनलाई नेवार समुदाय खीर खाने दिनका रुपमा पनि लिइन्छ ।
पञ्चदानका दिन बौद्ध धर्मावलम्बीहरु स्वयम्भू महाचैत्य दर्शन गरी पूजा गरेर स्वयम्भूमा रहेका बज्राचार्य गुरु र शाक्यहरुलाई आफ्नो गच्छेअनुसार दान प्रदान गरेर फर्किन्छन् । आफ्नो घरमा सजाइएको बुद्ध, भगवान् लोकेश्वर तथा चैत्य आदिलाई आफ्नो गुरुहरुलाई बोलाएर पूजा गराई पञ्चदान दिइन्छ । घरमा तथा घरको विशेष रुपमा सजाइएको कोठामा देवदेवी सजाउने तथा प्रदर्शन गर्ने काम बज्राचार्य, शाक्य र तुलाधर जातिले मात्र गर्दछन् ।
अरू जजमानहरु आफ्ना गुरुहरु कहाँ केपु लिएर (पञ्चदान ज्वलं) जान्छन् । अनि बज्राचार्य गुरुहरुले केपु ल्याउने जजमानहरुलाई क्षीर, स्वारी, मालपुवा तथा कसैकसैले रक्सी पनि खुवाई पठाउँछन् । गुरुजुहरु जजमानहरु कहाँ पञ्चदान लिन जान्छन् ।
पिण्डपात्रावदानका आधारका रुपमा पञ्जराँका दिन गंक्वाति पकाएर पिउनुपर्छ भन्ने कुरा मन्त्रसिद्धि महाविहारका बौद्धविद्वान् रत्नकाजी बज्राचार्यको गुँलाधर्म नामक पुस्तकमा उल्लेख छ । गँक्वाति भनेको नभिजाइएका नौथरी बुब (गेडागुडी) हो । पञ्चदान दिने काम बिहानदेखि दिनभरि पञ्चदान लिन आउने सबैलाई दिनुपर्छ । श्रीस्वयम्भू ज्योतिरुपलाई पनि ती वस्तु चढाउनुपर्छ ।
बौद्धधर्ममा दानधर्मको ठूलो महत्व छ । बुद्धत्व प्राप्त गर्न आवश्यक दश पारमितामध्ये दान पारमिता पनि एक हो । बौद्ध धर्मावलम्बी नेवारहरुको ठूलो पर्व मानिएको पञ्चदान भने ललितपुरमा श्रावण शुक्लपक्ष अष्टमीका दिन आयोजना हुन्छ । त्यसलाई यल पञ्चदान भनिन्छ । काठमाडौँ, भक्तपुर, थिमि बनेपा, साँखु, पनौतीलगायत ठाउँमा भने प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीमा यो पर्व मनाइन्छ । ललितपुरमा पञ्चदान गर्दा फुद्यो (अन्तिम पन्चदान लिन आउने) बौद्धगुरु नआएसम्म दान गरिराख्नुपर्ने बौद्ध परम्परा छ ।
पञ्चदान लिन आउने बौद्धगुरुहरुले बौद्ध स्त्रोत्र पाठ गर्दै दातालाई आशीर्वचन दिने गर्दछन् । दाताको आयु, आरोग्य, यश, जनधन, सन्तान वृद्धि र शान्तिको कामनासहित बौद्ध गुरुहरुले जजमानलाई आशीर्वाद दिने गरिन्छ ।
बौद्धविद्वान मञ्जुश्रीरत्न बज्राचार्यले सत्ययुगमा दीपङ्कर बुद्धलाई पञ्चदान दिएको स्मरणमा नेपालमा पञ्चदान पर्वको प्रचलन चल्दै आएको जानकारी दिनुभयो । बुद्धधर्ममा दानको ठूलो महत्व छ । पञ्चदानका दिन भगवान् बुद्ध तथा बज्राचार्य गुरुलाई विभिन्न धान, चामल, केराउ, नुन, पैसा, फलफूल आदि दान दिने गरिन्छ । उहाँका अनुसार गुँला एक महीनासम्म अरूलाई उपकार वा दानप्रदान गर्ने परम्पराअनुरुप पञ्चदानको दिन दीपङ्कर बुद्धका रुपमा बज्राचार्य गुरुलाई दान प्रदान गर्ने गरिन्छ । बज्राचार्यका अनुसार बज्रयान बौद्ध धर्मावलम्बीहरुले धर्मदेशना गर्ने तथा बुद्धको वर्णन गरिएको तुतः, पञ्च तथागतको ज्ञानलाई लय राखेर गाइने सङ्गीतबद्ध गीत पनि पाठ गर्ने गरिन्छ ।
संस्कृतीविद् डा चुन्दा बज्राचार्यले बज्रयान बौद्धधर्ममा दानप्रदानको विशेष महत्व रहेको बताउँदै बौद्ध धर्मावलम्बीहरुले यो महीनाभरि बुद्धको उपासना गर्ने र विभिन्न बाजा बजाई स्वयम्भू महाचैत्यको दर्शन गर्ने गर्दछन् । डा बज्राचार्यका अनुसार नेवार समुदायको मौलिक पहिचानका रुपमा रहेको पञ्चदान विशिष्ट प्रकारको छ । यसलाई भावी पुस्तासम्म पु¥याउनुपर्छ । यो महीना अरू देवदेवीको पूजा गर्न नहुने तथा विवाहको कुरा गर्न नहुने जनविश्वास छ । वसुन्धरा देवी, पञ्चबुद्ध तथा क्वापाद्यो (मूल देवता तथा बोधिसत्व) को तुत पाठ गर्ने गरिन्छ ।
स्वयम्भू महाचैत्यको भक्तिभाव तथा पूजा
स्वयम्भू पुराणअनुसार प्राचीन समयमा काठमाडौँ उपत्यका एउटा ठूलो दह थियो । विपश्वी बुद्ध आई उक्त दहमा कमलको फूल रोपेर गएका थिए । त्यो कमल फुलेपछि त्यसमाथि धर्मधातु ज्योति रूपमा स्वयम्भू प्रादुर्भाव हुनुभयो । यसरी उत्पत्ति भएका ज्योति स्वरूप स्वयम्भूनाथको दर्शन गर्न महाचीनबाट महामञ्जुश्री आएका थिए । महामञ्जुश्रीले चोभारमा आई आफ्ना दुई पत्नी वरदा र मोक्षदालाई चोभारको दायाँ र बायाँतिरका पहाडमा बसाए र आफ्नो खड्गले चोभारको डाँडालाई प्रहार गरेर दह खोली पानी बाहिर निकाले । पानी निस्किएपछि महामञ्जुश्रीले मञ्जुपत्तन नामको शहर स्थापना गरे ।
शहर स्थापनापछि ज्योतिरूप स्वयम्भू उत्पत्ति भएको डाँडामा नियमित सेवा हुन थाल्यो । यसलाई चैत्य सेवा भनियो । कालान्तरमा ज्योतिस्वरूप स्वयम्भू विराजमान भएका स्थानमा महायानतर्फका धर्मगुरु शान्तिकराचार्यले स्वयम्भू महाचैत्य निर्माण गरेपछि चैत्य सेवालाई ‘गुँला धर्म’ भनिएको किंवदन्ती छ ।
काठमाडौँ उपत्यकामा एक महीनासम्म मनाइने गुँलाधर्मभित्र पञ्चदानका अतिरिक्त अरू महत्वपूर्ण पर्वहरु पनि पर्दछ । गुँलाथ्व प्रतिपदा (साउन १७) देखि यँलाथ्व प्रतिपदा (भदौ १४) सम्म गुँला धर्म मनाइन्छ ।
द्यः थाय्गु
एक महीने गुँला पर्वमा द्यः थाय्गु एउटा नेवाः बौद्ध धर्मावलम्बीको मौलिक पहिचान झल्काउने महत्वपूर्ण प्रचलन रहेको छ । घरमा आयोजना गरेको द्यः थाय्गु पूजामा धार्मिक विधिपूर्वक विशेष पूजा गरी कालो माटोबाट बुद्ध चैत्य बनाइन्छ ।
बौद्धविद्वान् मञ्जुश्रीरत्न बज्राचार्यका अनुसार गुँला धर्म महीनाभरि एक लाख २५ हजार चिभा (कालो माटोको चैत्य) बनाउने चलन नेवार समाजमा छ । यस्तो बुद्धको चैत्यलाई लख चैत्य वा लक्ष चैत्य पनि भनिन्छ । गुँला पर्वको अन्तिम दिन सबै मिली तयार पारेका ती सबै चैत्यहरु जम्मा गरी नदीमा सेलाउने प्रचलन छ ।
बहिद्यो ब्वय्गु
नेवार समुदायमा बहिद्यो ब्वय्गु विशिष्ट र मौलिक परम्परा हो । काठमाडौँका विभिन्न १७ वटा बहीमा बहिद्यः सजाएर प्रदर्शन गरिने प्रचलन छ । दीपङ्कर बुद्ध, लोकेश्वर, बुद्धको मूर्ति, शाक्यमुनि बुद्ध लुम्बिनी जाँदै चित्राङ्कित पौभा प्रदर्शन मुख्य छन् । गुँलाबाजासहित बौद्ध धर्मावलम्बीहरु विशेष पूजाआजाका साथ बहिद्यो हेर्न जाने गर्दछन् । भाद्र शुक्ल प्रतिपदाका दिन पारु भ्वय गरेपछि गुँला पर्व समापन हुन्छ ।
