भक्तपुरमा गाईजात्राको रौनक, व्यङ्ग्य प्रदर्शन

दिवङगत आफन्तको सम्झना एवं उनीहरुको आत्मशान्तिका लागि शुक्रबार निकालिएको गाईजात्रा । तस्वीर: चन्द्रकला क्षेत्री

मध्यपुरथिमि, ३१ साउन : “घिनित्वाङ, घिनित्वाङ घिन्ताङ घिसी त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय”, आजदेखि भक्तपुरमा शुरु भएको सातदिने गाईजात्रा पर्वमा टोलटोलमा यही गीत गाएर घिन्ताङघिसी नाच नाच्दा गाईजात्रामा रौनक थपिएको छ ।

धार्मिक एवं ऐतिहासिक महत्व बोकेको गाईजात्राको प्रमुख आकर्षण एवं भक्तपुरमा मात्र नाचिने घिन्ताङघिसी नाच प्रदर्शनले गाईजात्राको रौनक थपिएको हो । घिन्ताङघिसी नाच जोडीजोडी बनेर लाठी जुधाएर नाच्ने गरिन्छ ।

आकर्षक नाचका रूपमा लिइने धार्मिक एवं ऐतिहासिक महत्व बोकेको घिन्ताङघिसी नाच गाईजात्राको दिन आज टोलटोलबाट निकालिएको हो । उपत्यकामा मनाइने गाईजात्रामध्ये भक्तपुरको जात्रा पृथक मनोरञ्जनात्मक एवं व्यङ्ग्यात्मक हुनेहुँदा यो जात्रा हेर्न टाढाटाढाबाट लाखौँकोे सङ्ख्यामा मानिस आएका थिए ।

एक वर्षभित्र मरेका आफन्तको दिवङ्गत आत्माले मोक्ष प्राप्त गरून् भनी प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिनदेखि कृष्ण जन्माष्टमीसम्म सातदिन मनाइने गाईजात्राको दिन आज बिहानै कुखुरा नबास्दै भक्तपुर तलेजुस्थानबाट तलेजुको ताहामचा बनाई देश परिक्रमा गरेपछि यो जात्रा शुरु भएको हो ।

भक्तपुरको दरबारस्क्वायरमा शुक्रबार मनाइएको गाईजात्रा पर्वमा परम्परागत नाच नाच्दै नेवार समुदायका बालबालिका तथा महिला । तस्बिर: सबिना केसी

त्यसपछि सर्वसाधारण मान्छेको मृत्यु भएकाको मृतात्माको प्रतीक ताहामचा बनाई भक्तपुर नगर परिक्रमा गर्ने गरिएको थियो । गाईजात्राका दिन वर्ष दिनभित्र मरेकामध्ये मृत्युसंस्कार गर्न नपर्ने अथवा उमेर नपुगेका बालबालिकाको साँचा बनाई नगर परिक्रमा गर्ने प्रचलन छ ।

उमेर पुगेका ठूला व्यक्तिको मृत्युमा १५ हात लामो बाँसको तामचा बनाई नगर परिक्रमा गर्ने परम्परा भए पनि भूकम्पले टोलटोलमा टेको लगाइएकाले यस वर्ष सानोसानो ताहमचा बनाइएको थियो ।

जात्रामा करुण रस प्रधान गीतिलीला रामायणसमेत प्रदर्शन गरिएको थियो भने केहीले कालोमाटोको साँढे बनाई शृङ्गारपटारसाथ खटमा राखी केटाकेटीलाई आकर्षक तवरले सिँगारी बाजागाजासाथ बासा लुइके गरेर प्रदर्शन गरिएको थियो । जात्राको आकर्षणका रूपमा रहेको घिन्ताङघिसी नाचसँगै हनुमान नाच, भैरव नाच र माक प्याखं (बाँदर नाच), लाखे नाच, विभिन्न देवीदेवताको नाचसमेत टोलटोलमा प्रदर्शन गरिएको छ ।

विभिन्न घर तथा टोलबाट निकालिएको गाईजात्रा दरबार स्क्वायर, बालाखु गणेश, चोछेँ, भोलाछेँ, महालक्ष्मी, नागपोखरी, क्वाठण्डौ, नवदुर्गास्थान, सूर्यमढी, दत्तात्रय, सुकुलढोका, गोलमढी, तौमढी, पोटरीस्क्वायर, वंशगोपाल, इताछेँ, खौमाको परिक्रमा गराउने गरिन्छ ।

जात्रा समापनका क्रममा साँझ परालबाट बनेको ताहमाचा र त्यससँगै भैरव नाचसमेत निकालिएपछि आजको जात्रा समापन भएको थियो । तौमढीस्थित भैरव मन्दिरबाट निकालिएको तमाचा, यसपछि सोही टोलभित्रभरिबाट निकालिएको अन्य ताहमचा र सबभन्दा पछि नकिङजु अजिमाको तमाचा निकाली वंशगोपाल हुँदै विभिन्न ठाउँमा परिक्रमा गरी दरबार स्क्वायर चोकमा तीनपटक परिक्रम गरेपछि जात्रा समापन गरिएको थियो । जात्राकै क्रममा विभिन्न व्यङ्ग्य एवं कार्टुनसमेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.