मुसहर अखारही पर्वको तयारी

सिरहा, १० असार : तराई मधेश क्षेत्रमा बसोबास गर्ने दलित समुदायअन्तर्गतका मुसहर जातिद्वारा प्रत्येक वर्ष असार पूर्णिमाका दिन हर्षोल्लासका साथ मनाइने अखारही पर्व यस वर्ष पनि मनाउन तयारी थालिएको छ ।

घरघरमा चन्दा मागेर पूर्णिमाका दिन मुसहर जातिले सन्तानको दिघार्यु तथा गाउँमा कुनै प्रकारको प्रलय नआओस् भन्ने कामनाका साथ यो पर्व मनाउने गरिन्छ । मुसहर जातिले कुल देवताका रुपमा रहेको दिनाराम भद्रीको मन्दिरमा विभिन्न प्रकारका प्रसाद चढाएर पूजापाठ गरी यो पर्व मनाउने प्रचलन रहेको छ । पूर्णिमाको एक साता अघिदेखि नै मुसहरहरु गाउँमा नगद, धान, चामललगायतका बस्तु चन्दाका रुपमा सङ्कलन गर्ने गर्छन ।

जम्मा भएको सामान बेचेर त्यो पैसाले पूजाका लागि लड्डु, पान, सुपारी, नरिवल, केरालगायतका समान किनेर पूर्णिमाको राति दिनाराम भद्रीको थान (मन्दिर) लाई सफासँग लिपपोत गरी किनेर ल्याइएको लड्डु, सुपारी, नरिवल तथा घरमा पकाइएको खिर चढाएर पूजाआजा गर्ने परम्परा रहेको छ । मन्दिरमा रहेको बाँसको ध्वजासमेत परिवर्तन गरी सो राति नयाँ बाँसको ध्वजा लगाउने चलन छ ।

वर्षभरी आ–आफ्नै काममा व्यस्त रहने मुसहर जातिका पुरुष, महिला, बालबालिकासमेत एकै ठाउँमा भेला भएर पूजापाठ गर्ने र दिनाराम भद्रीको नाम स्मरण गर्दै गीत गाउने गर्दछन् । दिनाराम भद्रीको वीरतालाई स्मरण गर्न र त्यस प्रति बढेको स्नेहलाई झल्काउने पर्वका रुपमा मुसहर जातिले यो पर्व मनाउने गरेका छन् । पूजाआजा गर्न भेला भएका मुसहर जातिका पुरुष तथा महिला मादल तथा ढोल बाजा बजाएर श्रद्धापूर्वक भजन किर्तन गर्दै गीत गाएर यो पर्व मनाइने गरेको बुढापाका बताउँछन् ।

परापूर्वकालमा मुसहर वंशका दिनाराम भद्री बलवान र शक्तिशाली रहेका कारण आफ्नो वंश र समाजको सुरक्षा गर्ने गरेकाले कुलदेवताका रुपमा दिनाराम भद्रीको पूजा गर्दै आएको रामाबिलास (सदाय) बताउनुहुन्छ । करीब सयौँ वर्ष अघि सप्तरीको नेगडा गाविसको जोगियाँ गाउँमा जन्मेका महान शक्तिशाली दिनाराम भद्रीलाई जादु (टुनामुना) लगाएर जाँजरकी बुधनी धमियानले मारेको पौराणिक मान्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.