आनन्दकुटी विहार पुनःनिर्माण ८० प्रतिशत सम्पन्न

कृष्णराज गौतम  । मुलुकको पुरानो थेरवादी बौद्ध विहारका रुपमा परिचित स्वयम्भूस्थित आनन्दकुटी विहारको पुनःनिर्माण ८० प्रतिशत सम्पन्न भएको छ ।

विसं २०७२ मा गएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण पूर्ण रुपमा क्षतिग्रस्त भएको उक्त विहार श्रीलंकाली सरकारको आर्थिक सहयोगमा करीब दुई वर्षअगाडि निर्माण शुरु गरिएको थियो ।

विहारको भवनको संरचना पूरा हुन लागेको भए पनि केही पूर्वाधारका साथै श्रीरामलंका चैत्य पूरै भत्काएर नयाँ निर्माणका क्रममा छ । पछिल्लो पटक विकास भएका अत्याधुनिक प्रविधिको प्रयोग गरी भूकम्प प्रतिरोधात्मक बनाइएको संरचना आगामी दुई महिनाभित्र करीब रु २१ करोडको लागतमा पूरा गर्न लागिएको विहारले जनाएको छ ।

उक्त विहार विशेषगरी थेरवादी बौद्ध धर्मावलम्बीले विभिन्न धार्मिक गतिविधि सञ्चालन गर्दै बौद्ध उपदेश तथा दर्शनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्न योगदान गरेको अखिल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्यले जानकारी दिनुभयो । बौद्धधर्ममा समर्पित भएका कारण विसं १९९३ मा तत्कालीन राणा सरकारले उहाँलाई भोजपुरको जेलमा थुनेपछि उहाँले उक्त विहारको अवधारणा तयार गर्नुभएको थियो ।

बैंककमा मुख्य कार्यालय भएको विश्व भातृ मण्डलका उपाध्यक्षसमेत रहनुभएका उहाँले आनन्दकुटी विद्यापीठ र आनन्दकुटी विहार गुठीको स्थापना गर्नुभएको थियो । हाल आनन्दकुटी विहार गुठीले सञ्चालन गर्दै आएको उक्त विहारले बुद्ध जयन्तीमा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखको आतिथ्यतामा हुने मुख्य सार्वजनिक समारोह तथा प्रत्येक चार वर्षमा हुने अस्थी धातु यात्रा र प्रदर्शनीसमेत गर्दै आएको छ ।

विसं १९७५ मा पाल्पा तानसेनमा जन्मनुभएका अमृतानन्दले विसं १९९६ मा स्थापना गर्नुभएको विहारले मुलुकको शैक्षिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले आनन्दकुटी विद्यापीठ सञ्चालन गर्दै आएकाले पनि विहारले बौद्धधर्मको चिन्तन, मनन र प्रचारप्रसारका साथै शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

श्रीलंकाबाट साहित्याचार्य र साहित्य चक्रवर्तीको शैक्षिक उपाधि हासिल गर्नुभएका अमृतानन्दले बौद्ध धर्मसम्बन्धी करीब चार दर्जन, नेवारीमा दुई दर्जन र अंग्रेजीमा तीन वटा पुस्तक लेख्नुभएको थियो ।

उहाँले बौद्धधर्मसम्बन्धी पुस्तकहरू लेखेर गरेको प्रचारले बौद्ध साहित्यको अनुसन्धानमा ठूलो सहयोग पुगेको छ । धेरैले उनको महानताको वर्णन गरेर ग्रन्थ लेखे । उहाँको सादा जीवन र उच्च विचारका माध्यमबाट सामाजिक रुपान्तरणमा गरेको योगदानले उहाँ र उक्त विहार नेपालमा मात्र नभएर विश्वका धेरै मुलुकमा प्रसिद्ध भएको छ ।

सोही विहारमा लामो समयसम्म जीवन बिताउनुभएका अमृतानन्दको विसं २०४७ भदौ ५ गते देहवसान भएपछि विहारले सत्यं, शिवं, सुन्दरमको आदर्श तथा विश्व शान्तिका लागि प्रतिबद्ध भएर अगाडि बढिरहेको विहारका प्रमुख भिक्षु धम्ममूर्तिले बताउनुभयो । मुलुकमा अहिले विभिन्न धर्मावलम्बीका साथै १२५ जाति तथा समुदाय र १२३ भाषा प्रचलनमा रहेको अवस्थामा पनि विभिन्न जाति तथा धर्मावलम्बी अवलोकनका लागि त्यहाँ आउने गरेका छन् ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधरले विश्व सम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रमा अवस्थित विहार सामाजिक सेवा र धार्मिक गतिविधिका माध्यमबाट मानिसहरुमा नैतिकताको विकास र समाजमा शान्ति कायम गर्न भूमिका निर्वाह गरेको विचार व्यक्त गर्नुभयो ।

विसं २०१० वैशाख पूर्णिमामा तत्कालीन राजा त्रिभुवनले आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बैठकको अध्यक्षता गर्नुभएको इतिहास पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.