न्यकुजात्राको तयारी
काठमाडौँ, ८ भदौ : बौद्धको मूर्तिलाई पूजा गरेर मनाइने ऐतिहासिक न्यकुजात्राको तयारी तीव्ररुपमा भइरहेको छ ।
यही भदौ १२ गते पाटनमा मनाइने सो जात्राका लागि गौतममुनि बज्राचार्यको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको जनाएको छ ।
न्यकुजात्रा मतयाः सञ्चालन मूल समितिले आज यहाँ आयोजना गरेको “श्रृगभेरी दीपयात्रा मतया पर्वको धार्मिक, ऐतिहासिक एवं संस्कृति” विषयक विचार गोष्ठीमा संस्कृतविद् सत्यमोहन जोशीले सो जात्रा ऐतिहासिक भएकाले यसको अध्ययन, अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल धर्म संस्कृतिमा भरिपूर्ण रहेको उल्लेख गर्दै उहाँले त्यसको अनुसन्धान र संरक्षण गर्नु सबैको साझा कर्तव्य रहेको बताउनुभयो ।
कहिलेदेखि यो जात्रा मनाउन शुरु गरिएको भन्ने यकिन नभए पनि बालार्चन देवको पालामा जेतवन महाविहारमा धर्मराज लोकेश्वरको प्रतिष्ठा भएको खुशियालीमा मतया पर्व दीपयात्रा शुभारम्भ भएको इतिहास छ ।
मतयाको अर्थ बत्ती बालेर परिक्रमा अथवा जात्रा गर्नुरहेको र अन्धकारलाई हटाएर प्रकाशमा ल्याउनु मानिन्छ ।
