सलुबुङमा धार्मिक तथा पर्यटकीय विकासका लागि गुरुयोजना निर्माण
किरण पौड्याल । इलाम, २८ वैशाख : वैदिक सनातन धर्मको रक्षाका साथै स्थानीयस्तरको पर्यटकीय प्रवद्र्धनका लागि यहाँस्थित सन्दकपुर गाउँपालिकाको सलुबुङमा गुरुयोजना बनाएर काम गरिँदै आएको छ । विकट इलामको उत्तरी क्षेत्रमा अवस्थित पर्यटकीय तथा धार्मिकस्थल ओझेलमा परेकाले पर्यटकीय विकासमा सघाउ पु¥याउनका लागि गुरुयोजना निर्माण गरिँदै आएको हो ।
विकासका सम्भावित क्षेत्र भए पनि भौतिक तथा पूर्वाधार अभाव हुँदा पर्यटक नपुगेको भन्दै स्थानीयले सुलुबुङको हुतुलुङमा पाठशाला र मन्दिर निर्माण गरेका छन् । पाठशालामा १३ जना बालबालिका पढ्दै आएका छन् भने मन्दिर निर्माण कार्य आउँदो वर्षसम्म सम्पन्न हुने गरी काम गरिँदै आएको छ ।
दशवर्षे गुरुयोजनामा छात्रबास, यज्ञ मण्डव, पञ्च धारा निर्माण गौशाला निर्माण गरिनेछ भने धार्मिक पुस्तकालय राखिने निर्माणाधीन नर्मदेश्वर मन्दिरका सल्लाहकार शङ्कर सुवेदीले जानकारी दिनुभयो । “हामी नेपाली धर्ममा बढी विश्वास गर्छौं । यात्रा पनि धार्मिक नै बढी गर्ने गरेको छौँ”, सुवेदीले भन्नुभयो, “हामी यस ठाउँलाई धार्मिक क्षेत्र बनाउन लागेका छौँ ।” उहाँका अनुसार निर्माणाधीन मन्दिर रु ४० लाखमा सम्पन्न हुनेछ भने रु ५० लाखको सत्सङ्ग भवन निर्माण गरिनेछ । यसका लागि गत वर्षदेखि रु एक करोडको अक्षय निर्माणका लागि रकम सङ्कलन गर्ने काम शुरु गरिएको जनाइएको छ ।
यस क्षेत्रलाई धार्मिक ‘अनुष्ठान’ निर्माण गरेर पर्यटकीय क्षेत्रसमेत बनाउने योजना रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नेत्र रिजालले जानकारी दिनुभयो । “हाम्रो यो क्षेत्रलाई चिनाउनका लागि पनि यो प्रयास हामी गर्दैछौँ । हाम्रो यो क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि भरिभराउ रहेको छ”, रिजालले भन्नुभयो, “सरकारका एक सय पर्यटकीय क्षेत्रमा पर्ने माईपोखरी, टोड्के झरनालगायतका प्रख्यात ठाउँ भए पनि प्रचार नहुँदा शून्य भएको छ । ती क्षेत्रलाई समेत समेटेर अघि बढ्ने गरी गुरुयोजना निर्माण गरेको छौँ ।”
यस ठाउँ हिन्दूको महत्वपूर्ण क्षेत्र बनाएर बालबालिकालाई आफ्नो धर्मको जानकारी गराउन आफूले काम गर्दै रहेको रिजालको भनाइ छ । गुरुयोजनामा मन्दिर निर्माणपछि मन्दिर र पाठशालामा के काम कसरी गरिन्छ भन्नेबारेमा समेत जानकारी गराइने उहाँले जानकारी दिनुभयो ।
शिवलिङ्ग स्थापना
पूर्व क्षेत्रकै पहिलोपटक आज एक कार्यक्रमकाबीच यस मन्दिरमा शिवलिङ्ग स्थापना गरिएको छ । आज विधिवत्रूपमा गणेश पुराण लगाएर उक्त शिवलिङ्गको स्थापना गरिएको हो । शिवलिङ्ग करीब एक फिट लम्बाइ भएको पत्थरबाट बनेको छ । सबैको कल्याण र धार्मिक सहिष्णुताको सन्देश फैलाउँदै शिवलिङ्ग स्थापना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रिजालको भनाइ छ । पितृको उद्धारसँगै भावी सन्ततिकोसमेत शान्तिको कामना गर्दै शिवलिङ्ग स्थापना गरिएको जनाइएको छ ।
यो किसिमको शिवलिङ्ग अन्य पूर्वी क्षेत्रमा नगरिएको र पूर्वकै पहिलो शिवलिङ्ग रहेको धर्म गुरु व्यासाचार्य किशोर गौतमले जानकारी दिनुभयो । “यो किसिमको शिवलिङ्ग पूर्वी क्षेत्रमै दुलर्भ हो । कहीँ पनि निर्माण भएको छैन”, गौतमले भन्नुभयो, “यसको दर्शनका लागि पनि धेरै पर्यटक भित्रिने सम्भावना रहेको छ ।” स्थानीय सर्वसाधारणसँगको नगद सङ्कलन गाउँपालिकाको सहयोगसँगै दाताकोसमेत सहयोगले मन्दिर निर्माण कार्य गरिँदै आएको जनाइएको छ ।
