‘अष्टधातुबाट बन्ने शिवमूर्तिले देवघाटको गरिमा बढाउँछ’ : नेता खनाल

काठमाडौँ, १ वैशाख : चितवनको देवघाटधाममा धार्मिक पर्यटन प्रवद्र्धनका लागि अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माणका लागि धातु र आर्थिक सहयोग सङ्कलन गर्न आजदेखि काठमाडौँको पशुपतिमा महायज्ञ शुरु भएको छ ।

शिवको मूर्तिसहित जमीनमुनि पूजाकोठा र धार्मिक सङ्ग्रहालय, यात्रु विश्रामगृह, उद्यानसहितको आकर्षक संरचना निर्माणका लागि झण्डै रु आठ करोड लाग्ने भएकाले अर्थ र धातु सङ्कलनका लागि महायज्ञ थालिएको आयोजक देवघाट संरक्षण प्रतिष्ठानले जनाएको छ ।

यही वैशाख ११ गतेसम्म चल्ने उक्त महायज्ञको आज पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता झलनाथ खनालले उद्घाटन गर्नुभयो । उहाँले विश्वकै हिन्दूहरुको आस्थाको केन्द्र देवघाटधाममा अष्टधातुबाट निर्माण हुने शिवमूर्तिले सो क्षेत्रको गौरव र गरिमा बढाउने उल्लेख गर्नुभयो ।

भाषा र संस्कृतिको विविधता भएको नेपाल दुई ठूला छिमेकीको बीचमा रहेकाले आफ्नो पहिचान जोगाउन आफैँ जुट्नुपर्ने भन्दै उहाँले नेपाल शिव भूमि, तपोभूमि र बुद्ध भूमि भएकाले विविधताका बीच एकता रहेको औँल्याउनुभयो । नेता खनालले महत्वपूर्ण तीर्थस्थल देवघाटमा धार्मिक पर्यटन विकास गर्न स्थानीयको तत्परता सराहनीय रहेको बताउँदै भन्नुभभयो, “तपाईहरुको पवित्र कार्य राष्ट्रको समुन्नत, पर्यटन विकास र संस्कृतिको उत्थानसँग जोडिएको छ, यस कार्यमा आफ्नोतर्फबाट सक्दो सहयोग रहने छ ।”

तीन वर्षमा निर्माण सक्ने गरी देवघाटमा चाँदी, सुन, तामा, पित्तल, ढलोट, काँच, फलाम मिश्रित धातुबाट शिवको मूर्ति निर्माण हुँदैछ । महायज्ञ मूल आयोजक समितिका संयोजक केशव पाण्डेले धार्मिक क्षेत्रले समेत पर्यटन विकासमा ठूलो टेवा पुग्ने भएकाले उक्त अभियानलाई तीव्रता दिइएकाले सक्दो सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

पशुपतिनाथस्थित हङ्स मण्डपमा शुरु ‘पशुपति महामहोत्सव तथा अष्टधातु सङ्कलन श्रीमद्भागवत् विराट ज्ञान महायज्ञ’बाट रु तीन करोड सङ्कलन गर्ने लक्ष्य राखिएको प्रतिष्ठानका महासचिव मदन मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार ११४ क्वीन्टल धातुबाट शिवमूर्ति निर्माण गर्नका लागि धातु सङ्कलन अभियानसमेत सँगसँगै गरिएको छ ।

सङ्कल्पकर्ता पण्डित ईश्वरकृष्ण महाराजले महायज्ञमा तीन करोड बेलपत्र चढाउने तथा एक करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेकाले तन, मन, धन र धातु सहयोग गरी पुण्य प्राप्त गर्न अनुरोध गर्नुभयो । महायज्ञमा रु एक लाख दान गर्ने संस्थापक सदस्य र रु पाँच लाख दान गर्ने व्यक्ति स्वतः संस्थापक सदस्य तथा संरक्षक हुने व्यवस्था छ ।

अर्का पण्डित बालकृष्ण अर्यालले धार्मिक पर्यटन क्षेत्रले राष्ट्रलाई समृद्ध बनाउन सहयोग गर्ने भएकाले यस्ता क्षेत्रको प्रवद्र्धन जरुरी रहेको औँल्याउनुभयो ।

उद्घाटन समारोहमा काभ्रेपलाञ्चोकको धुलिखेल निवासी बनाथकाजी र नुच्छेमाया श्रेष्ठले रु एक लाख पाँच हजार, चितवन भरतपुर– २२ की दुर्गादेवी घिमिरेले रु एक लाख एक हजार र पण्डित ईश्वरकृष्ण महाराजले रु एक लाख सहयोग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.