लिच्छविकालीन बिस्केट जात्रा शनिबारदेखि

काठमाडौँ,२८ चैत : आगामी शनिबारदेखि टोखा नगरपालिकामा लिच्छविकालीन बिस्केट जात्रा शुरु हुने भएको छ ।

टोखा बिस्केट जात्रा मूल व्यवस्थापन समितिका अध्यक्ष देवराज डङ्गोलले मेला व्यवस्थित र मर्यादित बनाउनका लागि स्थानीय सुरक्षा निकायको सहकार्यमा ३०० स्वयंसेवक खटाइएको बताउनुभयो ।

चैत मसान्तको दिन बिहान भक्तजन नुहाई धुवाई र मीठो भोजन गरी वाग्द्वार जान्छन् र बेलुका सपनतीर्थ र विनायक चण्डेश्वरी माईको मूर्तिलाई खटमा राखेर टोखा नगरलाई परिक्रमा गरी जात्रा शुरु गर्छन् । जात्राको दोस्रो दिन वैशाख १ गते मध्यरातमा सपनतीर्थ पोखरीमा स्नान गर्ने प्रचलन छ ।

वैशाख २ गते बिहान सबै देवगण चण्डेश्वरी, सपनतीर्थ, महादेव, सरस्वती र मसानकालीलाई एलागटोलमा बिसाइन्छ । वैशाख ३ गते बिहान सिन्दूरजात्रा सहित रथ बोकी टोखा नगर परिक्रमा गराई हासलेमा रथ बिसाइन्छ ।

वैशाख ४ गते पुनः रथ बोकी नगर परिक्रमा गराई गछेँ टोलमा राखेर पूजाआजा गरिन्छ र अपराह्न ४ बजेतिर सिन्दूरजात्रा सहित रथलाई आआफ्ना घरमा राखेपछि जात्रा समापन गरिन्छ । जात्राको लागि लाग्ने रु आठ लाख यसअघि नै टोखा नगरपालिकाले समितिलाई प्रदान गरिसकेको छ ।

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले इतिहास र संस्कृतिको धनी सो नगरपालिकालाई पर्यटनको मुख्य केन्द्र बनाउनका लागि छिमेकी नगरसँग सहकार्य गरी अघि बढ्न आवश्यक रहेकामा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.