पशुपति क्षेत्रमा वत्सलेश्वरी पूजा एवं जात्रा शुरु

काठमाडौँ, २० चैत : पशुपति क्षेत्रमा वत्सलेश्वरीको पूजा एवं जात्रा शुरु भएको छ । बुधबार बेलुकी पशुपतिनाथ मन्दिर मुनिको वाग्मती किनारस्थित वत्सलेश्वरी मन्दिरमा कुमारी बच्चा (कुम्ह मचा) को पूजा गरिने कार्यक्रम छ ।

पूजामा पशुपति क्षेत्रका सात थरी गुठियारको सहभागिता रहने जनाइएको छ । यसअघि मङ्गलबार देशोद्वार पूजा गरिएको थियो । पूजाअघि पशुपति क्षेत्रमा हुने वत्सलेश्वरी जात्राको निमन्त्रणा दिने चलन छ । चैत कृष्ण अष्टमी अर्थात् शितला अष्टमीका दिन निम्ता गरिएको पशुपति क्षेत्र विकास कोषका लेखा प्रमुख प्रेमहरि ढुङ्गानाले राससलाई जानकारी दिनुभयो ।

बिहीबार पशुपतिका मूल भट्टले वत्सलेश्वरीमा पूजा गर्नुहुनेछ । यसैगरी मन्दिर परिसरमा कन्या पूजा पनि गरिन्छ । बिहीबार राति हरिजन टोलमा बज्रेश्वरी रथयात्रा गरिन्छ । अमालकोट कचहरीले बजे्रश्वरी, जयबागेश्वरी, अमालकोटमाथि राखिएको तलेजु भवानीको मन्दिरमा पूजा गरिन्छ ।

यसै क्रममा वत्सलेश्वरी र बज्रेश्वरीमा बलिसहित पूजा पनि गर्ने परम्परा रहेको छ । शुक्रबार बिहान वत्सलेश्वरी, बज्रेश्वरी र आकाश भैरवको संयुक्त रथयात्रा पशुपति क्षेत्रमा चलाउने प्राचीन कालदेखिको परम्परा छ । चैत शुक्ल द्वितीयाका दिन अर्थात् चैत २४ गते रथयात्रा समापन गरिन्छ ।

वत्सलेश्वरीमा सतीदेवीको स्तन र बज्रेश्वरीमा नाइटो पतन भएको धार्मिक विश्वास छ । परापूर्वकालदेखि शुरु भएको विश्वास गरिने यो जात्राको यकिन तिथिमिति नभएको मन्दिरका पुजारी खलकका आशमान सङ्गतले बताउनुभयो ।

यो जात्रा हेर्न उपत्यकाका विभिन्न स्थानका देवीदेवता पनि चैतकृष्ण पक्षको अष्टमीपछि पशुपति क्षेत्रमा आउने प्राचीनकालदेखिको नियम रहेको विश्वास गरिएको छ । यसैगरी दूधे बालक र रुने बालकले समेत यो जात्रा हेरेपछि रुन कम हुने सामाजिक मान्यतासमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.