लिङ्ग दर्शन गर्न आउनेको भीड

भक्तपुरको दत्तात्रय अगाडि रहेको भीमसेन मन्दिरमा झुण्डाएर राखिएको काठबाट निर्मित लिङग र योनी आकारको कपडा । भक्तपरमा एकसातासम्म मनाइने होली पर्वलाई यौनको प्रतीकको रुपमा मान्दै भीमसेनको लिङग र द्रोपतीको योनीलाई यौनसमागमको रुपमा मान्दै पूजा गरी मनाउने चलन रहेको छ । तस्वीर: रमेश गिरी, भक्तपुर

रमेश गिरी । भक्तपुर, ५ चैत :

“भीमसेन देया लज खङ्गलो वानला ल्याँसे,
बिस्युवाने म्वायक सो झायाला”

नेवारी भाकाको यो गीतको अर्थ “भीमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु नपर्ने गरी हेर्न आउनु भयो की” हो । भक्तपुरको दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा एक सातादेखि यो गीत गुञ्जिरहदाँ यहाँ भीमसेनको लिङ्ग दर्शन गर्न आउँनेको उत्तिकै भीड लागेको छ । होली पूर्णिमासम्म हरेक दिन बिहान यसैगरी यो गीत गुञ्जिने गरेको छ ।

होली पर्वका अवसरमा भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा बसेर भीमसेन गुठीका गायजुहरुले होलीको दिनसम्म यही गीत गाएर होलीको आगमनसँगै बिदाई गर्दछन् । होली पूर्णिमासम्म सात दिनसम्म भक्तपुरमा चल्ने फागु अर्थात होली पर्व हेर्न र सङ्गीतमा रमाउन स्थानीय सधैँ जम्मा भएर यसरी नै होलीको परम्परालाई धान्दै आएका छन् ।

फागुन शुक्ल अष्टमीका दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई दुई जनाले काँधमा बोकेर इनाचो, वाचुटोल, जेँला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलहरुमा घुमाउने परम्परा छ । यसरी टोलटोलमा ल्याएपछि भीमसेनको लिङ्गका रुपमा दर्शन गर्ने परम्परा छ ।

घर र पसलमा घुमाएको लिङ्गलाई भक्तजनले स्पर्र्शगरी ढोग्ने र दान दक्षिणा दिने गर्दछन् । यद्यपि यसवर्ष भने लिङ्गलाई काँधमा नबोकी सवारी साधनमा राखेर घुमाएका छन् । यसरी घुमाउँदा वर्षौदेखिको परम्परा लोप हुने र संस्कृतिमा विकृति पस्ने भक्तपुरका संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ ।

भक्तपुरमा होली पर्व पृथक शैलीमा मनाइन्छ, यहाँको भीमसेन गुठीले परम्परादेखि नै होलीलाई यौनपर्वको रुपमा दाज्दै आएको छ । गुठीले हरेक वर्ष झै यस वर्ष पनि फागुन शुक्ल अष्टमीका दिनदेखि फागु पूर्णिमासम्म भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीकलाई झुण्ड्याएर यौन समागमको प्रतिबिम्ब चित्रण गरेको छ । यसलाई पूजा एवं दर्शन गर्न स्थानीयको सधैँ बिहान आउँने गर्दछन् ।

संस्कृतिकर्मी ओम धौभडेल भन्नुहुन्छ, “फागुनशुक्ल अष्टमीका दिन बिहान काठको लिङ्गलाई भक्तपुरको टोल छिमेक, घर, पसलै पिच्छे घुमाएर पूजा गरी साँझ मन्दिरको पाटीमा झुण्ड्याइन्छ । नेवारी परम्परा अनुसार यसलाई चीर स्वायगु भनिन्छ । चीरस्वायगू अर्थात् लिङ्ग घुमाएपछि यहाँ फागु शुरु हुने परम्परा रहेको छ ।

काठको यो लिङ्गलाई भीमसेनको लिङ्ग र रातो कपडाबाट बनेको योनी आकारको प्वाललाई द्रौपतीको योनीको रुपमा लिने गरिएको छ । भीमसेन र द्रौपदीको यौन सम्बन्धको रुपमा राखिएको लिङ्ग र यौनीको प्रतीकलाई यहाँका बासिन्दाले विकृतिको रुपमा नभई सांस्कृतिक महत्वको रुपमा संरक्षण गर्दै आएको उहाँ बताउनुहुन्छ ।
बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेन पाटीमा झुण्ड्याउने परम्परा छ । झुण्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वाल भित्र छिर्ने गर्दछ भने यसलाई भीमसेन र द्रौपतीको यौन समागमको रुपमा लिइने संस्कृतकर्मी धौभडेल बताउनुहुन्छ ।

साङ्केतिक रुपमा यौनसँग सम्बन्धित फागु पर्व अर्थात् होली पर्व दक्षिण एशियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने भए पनि विशेषत भक्तपुरमा भीमसेनसँग सम्बन्धित रहने गरेको छ । चीर स्वायगु अर्थात् लिङ्ग झुण्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् भने होली भरी यही शनिबार र आज मङ्गलबार भीमसेन मन्दिरमा भव्य मेला लागेको छ ।

“जीवनमा यौन अनिवार्य आवश्यकता हो, यौन भगवानको पालामा पनि थियो र मान्छेको पालामा पनि छ । यौनको आवश्यकता किराफट्याङ्ग्रादेखि पशुपक्षीमा समेत छ । यौनविनाको जीवन अधूरो हुन्छ । भीमसेन मन्दिरमा परापूर्वकालदेखि चल्दै आएको यो परम्पराले यौनको महत्वलाई अझ फराकिलो पारेको छ” स्थानीय श्यामलाल श्रेष्ठ बताउनुहुन्छ ।

मन्दिरमा झुण्ड्याएर राखिएको लिङ्ग र योनीको अवलोकन गर्न, यसको दर्शन गर्न भक्तपुरका मात्र नभई उपत्यका कै व्यापारी र धार्मिक विश्वास राख्ने व्यक्तिहरु आउने भीमसेन गुठीयार बताउँछन् । पुरुष मात्र नभई यसको अवलोकन एवं दर्शन गर्न महिला पनि आउने गर्दछन् भने यहाँ आउनेहरुले धार्मिक विश्वास कै आधारमा झुण्ड्याएको लिङ्गलाई हल्लाउने गर्दछन् ।

फागु पूर्णिमाको दिन साँझपख दत्तात्रय मन्दिर अगाडिको भीमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राख्ने परम्परा रहेको स्थानीय कुमार प्रजापति बताउनुहुन्छ ।

यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यसवर्ष छोरा जन्मन्छ भन्ने जन विश्वास अहिलेसम्म पनि रहेकाले लिङ्ग बोक्न छोरा नहुनेको प्रतिस्पर्धा चल्ने गर्दछ । लिङ्ग पखालेर भीमसेन मन्दिरमा ल्याएपछि होली समाप्त हुने गर्दछ ।

भीमसेनको मन्दिरको स्थापना १७ औँ शताब्दीमा राजा जगतप्रकाश मल्लले निर्माण गरेको इतिहासमा उल्लेख छ । भक्तपुरको मौलिक शैलीको होलीको प्रचलन त्यही समयदेखि भएको अनुमान गरिएको छ । मल्लको समयमा नेस ७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी गीत पाइएका कारणले यसको थप पुष्टि हुने धौभडेल बताउनुहुन्छ । वसन्त ऋतुको आगमन फागुन महिनादेखि हुने भएको र यो समय यौन ऊर्जाको समय मानिने भएकाले पनि होली पर्वसँग यसको सम्बन्ध रहेको हो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal