अश्वमेघ गायत्री महायज्ञको तयारी पूरा
वीरगञ्ज, १८ फागुन : नेपाली भूमिमा पहिलोपटक हुन लागेको अश्वमेघ गायत्री महायज्ञको यहाँ तयारी पूरा भएको छ ।
फागुन १९ गतेदेखि २२ गतेसम्म चार दिन सञ्चालन हुने महायज्ञको लागि आदर्शनगर रङ्गशालामा २५१ वटा कुण्ड निर्माण गरिएको छ भने पण्डाल लगाउने, आगुन्तकलाई निःशुल्क भोजनको व्यवस्थामञ्च सजावट, वासस्थानलगायतका व्यवस्था पूरा भएको यज्ञका प्रेस संयोजक महेश दासले राससलाई बताउनुभयो ।
सो महायज्ञमा पाँच लाख धर्मावलम्बी हवन गर्ने अनुमान गरिएको छ । महायज्ञलाई सफल बनाउन सात सयभन्दा बढी स्वमंसेवक भारतको महाराष्ट्र, राजस्थान र मुम्बईलगायतका ठाउँबाट आइसकेको आयोजक समितिका संयोजक तथा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बताउनुभयो ।
सो यज्ञ अवधिभरी वीरगञ्जका विद्यालय बन्द गरिएको छ । सो अवधिभरि वीरगञ्जमा मदिरा, माछा, मासु बिक्री वितरणमा समेत रोक लगाइएको छ । महायज्ञ सफल बनाउन ६०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको र ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त पारिएको छ ।
