नागदह महोत्सव सम्पन्न

सञ्चिता घिमिरे । ललितपुर, ३१ साउन : धार्मिक तथा प्राकृतिक हिसाबले महत्वपूर्ण ललितपुर–२४ स्थित नागदहमा नागपञ्चमीका अवसरमा आज नागदह महोत्सव आयोजना भएको छ ।

प्रत्येक वर्षजस्तै यस वर्ष पनि नागपञ्चमीमा दहमा नुहाउनका लागि धेरै धर्मावलम्बी टाढाटाढाबाट आएका छन् । महोत्सवले यस वर्ष नागदहमा अघिल्लो वर्षभन्दा बेग्लै रौनक थपेको छ । पर्यटकीय सम्भावना बोकेर पनि पछि परेको सो सम्पदालाई चिनाउनका लागि महोत्सव आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

महोत्सवलाई ललितपुर महानगरपालिका–२४ ले विभिन्न निकायसँगको सहकार्यमा आयोजना गरेको हो । वडाध्यक्ष दिनेश कार्कीले यहाँ आउने पर्यटकको सङ्ख्या बढाउनकै लागि महोत्सव आयोजना भएकोे बताउनुभयो । अघिल्ला वर्षमा वर्षेनी नागपञ्चमीका दिनमा लाग्ने नागदह मेलामा झण्डै ३० हजार आगन्तुक आउने गरेका थिए । महोत्सव आयोजना गरेर यस वर्ष एक लाख आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने आयोजकको योजना छ । उहाँ भन्नुहुन्छ, “आगन्तुक बढाउनकै लागि हामीले मेलालाई महोत्सवमा बदलेका हौँ ।”

नागदहमा आन्तरिक र बाह्य दुवै खालका पर्यटक बढ्ने वडाध्यक्ष कार्की बताउनुहुन्छ । पाटन आउने पर्यटकलाई यहाँसम्म ल्याउनुपर्ने खाँचो छ । नागदह र आसपासका धार्मिक स्थान समेटेर पर्यटकीय पथ विकास गर्नुपर्ने खाँचो भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान नागदह आएका पर्यटकलाई दिउँसो सन्तानेश्वरको डाँडामा र त्यहाँबाट बज्रबाराहीको जङ्गलमा घुमेर नागदह नै आएर खाजा खाएर मात्रै फर्कने गरी रुट बनाउनुपर्छ ।” नागदहमा पर्यटक बढाउँदा यहाँको आर्थिक र सामाजिक विकास हुने र स्थानीयवासीको जीवनस्तर उकासिने उहाँले बताउनुभयो ।

वर्षेनी दहमा नागपञ्चमीका दिनमा भक्तजनको भीड लाग्ने गरेको पुजारी राम गिरीले बताउनुभयो । यहाँ दिनानुदिन काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजन आएर नुहाउने र वासुकी नागको पूजा गर्छन् । दहका वरिपरि विभिन्न धार्मिक स्थानसमेत रहनाले यसको महत्व बढेको छ । उहाँ भन्नुहुन्छ, “वासुकी नाग, शक्तिश्वर महादेव र नारायण यहीँ रहेका छन् ।” ऋषिपञ्चमीका दिनमा पनि नागदहमा नुहाउनका लागि महिलाहरु आउने गरेका छन् ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकामा रहेका विभिन्न जात्रा तथा पर्वलाई महोत्सवका रुपमा मनाउँदै जाँदा पर्यटन क्षेत्रको विकास गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “वडा नम्बर २४ बाट सिकेर अरूले पनि त्यहाँका धार्मिक तथा सांस्कृतिक सम्पदा केन्द्रित महोत्सव गर्नुपर्छ ।” नागदहको संरक्षण र विकासका लागि महानगरपालिका सधैँ लाग्ने उहाँले बताउनुभयो ।

नागदह कसरी यहाँ उत्पत्ति भयो भन्नेबारे रोचक कथन पाइन्छः आदिकालमा मञ्जुश्रीले काठमाडौँ उपत्यकाको पानी पहाडहरुमा प्वाल बनाएर पठाएका थिए । पानीसँगै नागराजा जाने हुँदा नागराजा राख्नकै लागि नागदह बनाइएको विश्वास गरिन्छ । नागदह नजीकै बोडेनी बूढी नामक स्थान छ । परापूर्वकालमा सो स्थानमा गएर स्थानीयवासीले सामाजिक कामका लागि भाँडाकुँडा चाहिँदा नागराजासँग माग्थे । मागेको भोलिपल्ट नागराजाले दिन्थे र स्थानीयवासीले उक्त कार्य सकिएपछि भाडा फिर्ता गरिदिन्थे । एक जना स्थानीयवासीले एक पटक भाँडा फिर्ता गर्दा सफा नगरी जुठो फिर्ता गरिदिए । त्यसपछि नागराजाले भाँडा दिन छाडेको स्थानीयवासीको विश्वास छ ।

नागदह आसपासका क्षेत्रमा यहाँको पानीबाट सिँचाइ हुने गरेको छ । असार १५ गते ठेचोका किसान स्व देवीर महर्जनको खेतमा रोपाइँ गरेपछि मात्रै अरू किसानको खेतमा रोपाइँ गरिँदै आएको छ । यो दह विगतमा पटक पटक फुटेको थियो । पहिले एक पटक यहाँको पानी फुटेर बाहिर निस्कँदा कसैले थुन्न सकेनन् । ठेचोका किसान महर्जनले परालको कल्लीले पानी थुनेको विश्वास गरिन्छ । त्यही विश्वासले गर्दा आजसम्म पनि उनकै खेतमा रोपाइँ सकेर मात्रै अरू खेतमा गरिँदै आएको छ ।
सातदोबाटोबाट झण्डै चार किलिमिटरको दूरीमा रहेको सो दहको क्षेत्रफल ५२ मिटर छ । गहिराइ झण्डै आठ मिटर रहेको स्थानीयवासी बताउँछन् । नागदहमा पाँच कुना रहेका छन् । यी कुनै पनि एउटा कुनाबाट हेर्दा अर्काे कुना नदेखिनुलाई यहाँको विशेषता मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.