संकट मोचन धाम निर्माण गर्न महायज्ञ हुने
राष्ट्रमा देखिएका संकटको मोचन होस् भन्ने कामना गरी संकट मोचनधामको निर्माणमा सहयोग जुटाउने उद्देश्यले महायज्ञको आयोजना गरिने भएको छ ।
संकट मोचन हनुमान मन्दिर सेवा समिति तथा विश्व हिन्दू महासंघ लगायतका धार्मिक एवम् सामाजिक संघसंस्थाको आयोजनामा भुवनेश्वरी मन्दिर परिसर बासुकीचौर बल्खुमा संकट मोचन शिव पुराण महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञ साउन ११ शुक्रबार गुरु पूर्णिमादेखि २६ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञमा पं. माधवानन्द महाराजबाट शिव महापुराणको वेदान्तपरक कथा प्रवचन हुने र १६ गतेदेखि नौ जना वटुकले अहोरात्र अखण्ड हवन गर्नुहुनेछ । महायज्ञमा ग्रहशान्ति, रुद्रीलगायत कर्म समावेश गरिनेछ ।
धामको निर्माणमा सहयोग पु¥याउने उद्देश्य रहेको सो महायज्ञमा देश–विदेशमा रहेका सर्वसाधारणले यथाशक्य सहयोग गर्न सक्ने आयोजकले जनाएका छन् । एक जनाले कम्तीमा एक इँट्टा बराबरको सहयोग गरी नागरिक, समाज र राष्ट्रमा परिरहेका संकट निवारणका लागि धाम बनाउन सहयोग गर्न सकिने बताइएको छ ।