रिडीमा भक्तजनको भीड

पाल्पा, १ माघ : कालीगण्डकी नदीको रिडीमा स्नान गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ । माघेसङ्क्रान्तिको अवसरमा कालीगण्डकी नदीमा स्नान गर्दा पूण्य हुने जनविश्वासले मानिस कालीगण्डकी नदीको स्नान गर्न पुग्दा त्यस क्षेत्रमा चहलपहल बढेको हो ।

पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रिडीमा माघेसङ्क्रान्तिको दिन कालीगण्डकी नदीमा स्नान गर्न पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, रुपन्देही, काठमाडाँै र भारतदेखि भक्तजन आउने गर्छन् । भक्तजनको बिहानैदेखि ऋषिकेश मन्दिरमा दर्शन गर्नेको अहिले घुइँचो लागेको छ ।

नेपालका चारमध्ये एक धामको रुपमा परिचित छ । रिडी क्षेत्र धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ । कालीगण्डकीमा स्नान गरी रूरूकन्याको दर्शन गरेमा पापबाट मोक्ष प्राप्त हुने किंवदन्ती रहेको पाइन्छ ।

माघेसङ्क्रान्तिको पहिलो दिन नै व्यापारी तथा श्रद्धालु भक्तजन आएपछि यहाँ चहलपहल बढेको स्थानीयवासी विष्णु परियारले बताउनुभयो । माघे सङ्क्रान्तिमा खुदो र गुणको व्यापार निकै हुन्छ । हिमाली क्षेत्र हुम्ला, जुम्ला, रुकुम, रोल्पादेखि बागलुङ, पर्वत, पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलवस्तुलगायतका व्यवसायी व्यापारका लागि यहाँ आएको परियारको भनाइ छ ।

मेलामा हिमाली जिल्लामा उत्पादित कम्मल, काम्ला, पाखी, बाँसबाट निर्मित सामग्री र ओखरका घाँजी किनबेच हुँदै आएको छ । गुल्मीलगायत पाल्पा, स्याङ्जा, अर्घाखाँची, बागलुङ्मा उत्पादित बासका साम्रगी, कृषि उत्पादन, कपडालगायत खुद्रो, काठका सामग्री, उनीजन्य वस्तु रिडीको माघी मेलामा कारोबार हुने गर्दछ । मङ्गलबारदेखि शुरु भएको माघे सङ्क्रान्ति पाँच दिनसम्म सञ्चालन हुने स्थानीयवासी तथा तानसेन–१४का वडाध्यक्ष कमल रानाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.