एकमहीने महामिलन पर्व समापन
दमौली, ३० कात्तिक : वेद अनुयाय प्रतिष्ठान नेपाल तनहुँको आयोजनामा कात्तिक १ गतेदेखि व्यासभूमिमा शुरु विश्व ओमकार तथा हिन्दू महामिलन पर्व आजबाट समापन भएको छ ।
वेदव्यासको जन्मभूमि दमौलीलाई विश्व माझ चिनाउने उद्देश्यले आयोजना गरिएको महामिलन पर्वको सभामुख कृष्णबहादुर महराले समापन गर्नुभएको हो । कार्यक्रममा सभामुख महराले व्यासभूमिको विकासका लागि सरकारलाई ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभयो ।
सभामुख महराले व्यासभूमिमा सरकारीस्तरबाट व्यास क्षेत्र विकास कोष गठन गर्नका लागि आफूले सरकारको ध्यानाकर्षण गराउने भन्दै बृहत् गुरुयोजना बनाएर यसको विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । सरकारले घोषणा गरेको नयाँ गन्तव्यमा व्यासभूमि छुट्नु दुःखको कुरा भएको भन्दै सभामुख महराले यसलाई नयाँ गन्तव्यमा समावेश गर्न सरकारलाई ध्यानाकर्षण गराउने महराले प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “देशभरका थुप्रै पर्यटकीय ठाउँ त्यसमा छुटेको छ, त्यस विषयमा सरकारसँग कुरा गरेर नयाँ गन्तव्यमा समावेश गर्नेछौँ ।”
व्यासभूमिमा १०८ फिटको वेदव्यास मूर्ति निर्माणको अभियान थालनी भएकाले यसले समग्र तनहुँकै पर्यटनलाई टेवा पु¥याउने भन्दै सभामुख महराले मूर्ति निर्माणमा बजेटको अभाव नहुने बताउनुभयो । “त्यसका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिलाई समेत यसमा आकर्षित गर्न पहल गर्नेछु”, उहाँले भन्नुभयो ।
सांसद केदार सिग्देलले व्यासभूमिको विकासका लागि थालिएको अभियानमा आफ्नो सधँै साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सांसद कृष्णकुमार श्रेष्ठले व्यासभूमिको विकासमा निकै ढिलाइ भए पनि अब यसले गति लिने बताउनुभयो ।
सो अवसरमा व्यासका अध्येता काशीनाथ न्यौपानेले व्यासभूमिलाई विश्व ओमकारको मूल थलो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र यसमा सबैको उत्साहजनक उपस्थिति रहेको बताउनुभयो । “मुस्लिमको मक्का मदिना भएजस्तै हिन्दू, बुद्ध, जैन र शिख धर्म मान्नेहरु यस थलोमा आउने वातावरण बनाउन कार्यक्रम गरिएको हो”, उहाँले भन्नुभयो । उहाँले प्रत्येक कात्तिक महीनामा महामिलन पर्व आयोजना गरिने पनि जानकारी दिनुभयो ।
एक महीने महामिलन पर्वमा करीब ३० हजार भक्तजनले सहभागिता जनाएको आयोजकले दाबी गरेको छ । वेद अनुयाय प्रतिष्ठान तनहुँका अध्यक्ष कृष्णकान्त काफ्लेले महामिलन पर्वमा सहभागी हुन देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारत र अमेरिकाबाट समेत भक्तजन आएको जानकारी दिनुभयो ।
