‘सनातन वैदिक सभ्यताको बाह्रखरी’

काठमाडौँ, १५ कात्तिक : वैदिक इतिहासबारे जानकारी दिन नेपाल सरकारका पूर्वसहसचिव विष्णुहरि पौडेलद्वारा लिखित ‘सनातन वैदिक सभ्यताको बाह्रखरी’ लोकार्पण भएको छ ।

वैदिक इतिहासबारे खोतल्दै जाँदा प्रशस्त सामग्री तयार भएकाले यस पुस्तक लेखन गरिएको लेखक पौडेलले जानकारी दिनुभयो । “यो पुस्तक सामान्य पाठकलाई लागि हुने गरी सरल भाषाशैलीमा तयार गरेको छु”, पौडेलले भन्नुभयो । ऋषिमुनिका विभिन्न आविष्कारका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको छ । उहाँले लेखनका क्रममा वेद र वेदाङ्गको अध्ययन गरिएको बताउनुभयो ।

सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कृति अनुसन्धानमूलक नभई सामान्य ज्ञानमा आधारित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेका पुस्ताले इतिहास र वेदको अध्ययनलाई नै भुलिसके, यस पुस्तकबाट उनीहरुले थुप्रै ज्ञानहरु पाउन सक्छन् ।”

संस्कृतिविद् डा गोविन्द टण्डनले लेखक पौडेलले पुस्तकमा कतिपय ठाउँमा अनुमानका भरमा लेखिनु उचित नरहेको बताउँदै आगामी दिनमा भाषागत शुद्धता र गहन अध्ययनमा ध्यान दिन सुझाव दिनुभयो । वाल्मिकी संस्कृत क्याम्पसका प्रमुख डा गणेशप्रसाद घिमिरेले आजका पुस्तामा देशलाई के दिऊँ भन्ने भावना भए पनि ती संस्कारबाट वञ्चित रहेकामा दुःख व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.