मिथिलाञ्चलमा ‘मधुश्रावणी’ पर्व शुरु
अजयकुमार साह । महेन्द्रनगर, धनुषा, १७ साउन : जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि मधुश्रावणी पर्व शुरु भएको छ ।
मिथिलामा नवविवाहिता बधुहरुले गर्ने सबभन्दा ठूलो व्रत मधुश्रावणी पर्व श्रावण कृष्ण पञ्चमीको दिनदेखि नै प्रारम्भ हुन्छ । तेह्र दिनसम्म विशेष विधिका साथ गरिने यो पर्वको समापन श्रावण शुक्ल तृतीया तिथिका दिन हुनेछ ।
सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा छ । यस पर्वमा नवविवाहिता मैथिल पुत्रीहरु गीत गाउँदै श्रीमान्ले ल्याएको वा पठाएको फरिया, लेहंगा लगाएर सखीसँग फूलबारीमा फूल टिप्दै लोकाचारलाई रंगात्मक धरातलमा समेत उभ्याउने गर्छन् ।
साउन महिना आध्यात्मिक महिना हुनाका साथै धर्म ग्रन्थमा साउन महिनालाई मधुमासका रूपमा स्वीकार्नु तथा वर्षा ऋतुमा सर्पको भूमिमा आगमन र विचरणले मानव जीवन त्रस्त हुनाका साथै नाग–नागिनी र प्रकृतिका प्रतीक हुने कारणबाट पनि प्रेरित यो पर्व मुख्यतः शिव, पार्वती तथा नाग–नागिनीको पूजामा केन्द्रित रही १३ दिनसम्म मनाउने चलन छ ।
यो पर्व प्रायःजसो मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव, सोनार जातिमा मनाइने गरिएको पाइन्छ । पर्व अवधिभर प्रत्येक दिन गौरी तथा नाग–नागिनीको पूजा गरी शिव पार्वती र नागसँगै सम्बन्धित कथा सुनाइने गरिन्छ । गौरीलाई दाम्पत्य जीवनको संरक्षिका र नागलाई नारीको पतिका रूपमा वंशलाई समाप्त पार्ने प्रवृत्तिको जीव मानिएका कारण यस पर्वमा गौरी तथा नाग–नागिनीका विशेष पूजा आराधना गर्ने गरिएको छ ।
गौरीले दाम्पत्य जीवनलाई सुखी बनाउने मात्र होइन, मनोकामना पूर्ण गर्ने देवी भएको तथ्य उक्त गीतको भाव रहेको छ । मिथिलाकी राजकुमारी सीताद्वारा गौरी पूजन गरिएकाले नै भगवान् पुरुषोत्तम श्रीरामजस्ता पति पाइन् भन्ने धार्मिक आस्था पनि देखिन्छ । वाल्मीकि रामायणअनुसार गौरीपूजनका लागि फूल टिप्ने क्रममा रामसँग सीताको भेट भएको थियो । नवविवाहिताहरू यस पर्वमा हृदयको उल्लास उमंगलाई व्यक्त गर्छन् ।
पर्वकालभरि प्रत्येक दिन गौरी नागको पूजनपछि कथा सुन्ने विधानअनुसार पहिलो दिन मौनापञ्चमी एवं विसहराको जन्मका कथा भनिन्छ, जुन नाथ उत्पत्तिको कथा हो । यस पर्वमा अन्तिम दिनको कथाको समापनपछि वितरण गरिने सुहाग (अंकरी, चना) सुहागका प्रतीक विशेष प्रेरणादायी रहेको पाइन्छ । पर्व नित्य सुन्ने बिनी सर्पको विष लाग्दा सो विष झार्न प्रयोग गर्ने मन्त्रका रूपमा रहेको बुझिन्छ । पूजनकालमा केंचुआ (धान, धूवो धनियाँ, बेसार, ल्वाङ, जाइफल, हर्रो, बर्रो र सुपारीको पोको) को प्रयोग यसै पर्वका मंगलागौरीको कथा प्रसंगबाट पे्ररितले विशेष महत्व राखेको पाइन्छ ।
पर्वको अन्तिम विधि ‘टेमी’ दिने हो । यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ । यो विधि सामान्य अर्थमा अव्यावहारिक, अन्धविश्वासी, रूढीवादी परम्परामा आधारित भएको देखिए पनि एउटा खास धार्मिक, सांस्कृतिक मान्यताको प्रतीक रहेको बुझिन्छ । सो विधिमा डाम्दा हुने पीडा जतिकै दाम्पत्य जीवनमा पर्न सक्ने दुःख, कष्ट, पीडा खप्ने हुनुपर्दछ भन्ने अर्थमा अथ्र्याइएको पाइन्छ ।
मिथिलाञ्चल प्राचीनकालदेखि नै समृद्ध संस्कृतिका रुपमा विशिष्ट स्थान ओगटेको क्षेत्र हो । मिथिला क्षेत्रको प्रारम्भ राजर्षी जनकबाट भएको हो । करीब चार हजार वर्ष पुरानो मानिने हिन्दूको पवित्र ग्रन्थ महाभारतमा समेत मिथिला संस्कृतिबारे स्पष्टरुपमा उल्लेख गरिएको पाइन्छ भने अर्कोतिर करीब अढाइ हजार वर्ष पूर्वको वाल्मीकि रामायणमा पनि मिथिला संस्कृतिबारे उल्लेख गरिएको भेटिन्छ ।
महाभारत र वाल्मीकि रामायणले विशेषगरी राजा जनकको धार्मिक, ऐतिहासिक तथा पवित्र नगरी मिथिलाञ्चल क्षेत्रलाई प्रतिनिधित्व गर्ने भएकाले यहाँका शहरदेखि गाउँसम्म फैलिएको मैथिली भाषाभाषीको परिवारमा धार्मिक तथा सामाजिक अनुष्ठानका रुपमा नवविवाहित महिलाले मधुश्रावणी पर्व मनाउने परम्परा रहिआएको छ ।
मिथिला संस्कृतिको आफ्नै किसिमको विशिष्टता, आदर्श र वैभवता छ । मिथिला नारीको जीवन पद्धतिसँग जोडिएको मधुश्रावणी पर्वलाई यहाँ महत्वपूर्ण पर्वका रुपमा मनाउने परम्परा कायम छ । आर्य समाजको आगमनदेखि पूर्वकालसम्म चलिआइरहेको यो पर्वलाई आफ्नो धर्म, संस्कृति, परम्परा तथा सुखद दाम्पत्य जीवनप्रति समर्पित हुने अवसरका रुपमा लिने गरिन्छ ।
मिथिला समाजमा प्रचलित पर्व र व्रत केवल हर्ष र उल्लासका लागि मात्र मनाइने गरिँदैन । यी पर्व मानिसको जीवन पद्धति र अस्तित्वसँग कुनै न कुनै रुपमा जोडिएको हुन्छ । प्रत्येक पर्वले सांस्कृतिक स्थितिलाई बलियो बनाउने तथा जीवनलाई पवित्र पार्ने सन्देश बोकेको हुन्छ । जीवनमा विवाह एकपटक हुन्छ र पूरै वैवाहिक जीवनमा मधुश्रावणी पर्व विवाहको पहिलो वर्ष बेहुलीका लागि अग्नि परीक्षाका रुपमा लिइन्छ । यो पर्वलाई यहाँका महिलाले भव्यतापूर्वक मनाउने गर्दछन् । यो पर्वले एकातिर मिथिला संस्कृतिलाई संरक्षण प्रदान गर्दछ भने अर्कोतिर दाम्पत्य जीवनको आधारशीलालाई बलियो बनाउने गर्दछ ।
यो पर्वको प्रमुख विशेषता भनेको पतिपत्नीबीचमा हुने राग–अनुराग, प्रेम–परिणय तथा दाम्पत्य जीवनलाई सुुदृढ गर्नु हो । यसकारण भनिन्छ कि नवविवाहित वर कन्याका लागि मधुश्रावणी पर्व अति महत्वपूर्ण र संवेदनशील मानिन्छ । यसमा कन्याको भावनात्मक र शारीरिक सम्बन्ध दुवैलाई प्रगाढ बनाउने सन्देश हुन्छ ।
यो पर्व पूर्वजद्वारा दिइएको एउटा अनुपम उपहार हो । यो पर्वको महत्वपूर्ण पक्ष भनेको विसहरा तथा शिवपार्वतीको पूजा गर्ने क्रममा वृद्ध महिलाद्वारा कथा वाचन गर्ने गरिन्छ । कथाद्वारा शिव पार्वतीको जीवनसँग जोडिएको घटनालाई रोमाञ्चकारी रुपमा प्रस्तुत गरिन्छ । यस पर्वमा नवविवाहित स्त्री खुलेरै घुमफिर गर्नाका साथै आफ्नो सखीहरुलाई मुक्तकण्ठले आफ्नो पतिको खुलेर प्रशंसा गर्ने गर्दछन् ।
यो पर्वको अर्को विशेषता भनेको व्रती महिलाले एकचोटीमात्र खाना खानु हो । यो एउटा मैथिली संस्कृतिको विशिष्टता नै मान्नु पर्दछ । आमोदप्रमोद, हासपरिहास र उन्मादले भरिएको यो पर्वमा नव वरवधुलाई आनन्द लिने मौका दिइन्छ । प्रेम, उन्माद र विशिष्ट संस्कृतिका रुपमा रहेको मधुश्रावणीलाई गलतरुपमा व्याख्या नगरी यसको संरक्षण गर्न आवश्यक रहेको मैथिली साहित्यकारहरु बताउँछन् ।