क्षमता विकासमा लाग्न आग्रह

चितवन, १६ चैत : पत्रकारिता क्षेत्रको इतिहासलाई संस्थागत विकासका लागि एकीकृत भएर लाग्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ चितवन शाखाले आज यहाँ आयोजना गरेको पूर्व अध्यक्ष सम्मान एवम् संस्थागत विकासको सवाल विषयको छलफलमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले समाज परिवर्तनसँगै पत्रकारिता क्षेत्रको संस्थागत विकासलाई पनि सँगसँगै लैजानुपर्ने बताउनुभयो ।
महासंघका केन्द्रिय सदस्य सृजना अर्यालले अहिलेको समयमा क्षमता र संस्थागत विकास दुवैको विकास आवश्यक रहेको बताउनुभयो । महासंघका अर्का केन्द्रिय सदस्य कृष्ण गिरिले पत्रकारिता क्षेत्रको संस्थागत विकाससँगै समाज रुपान्तरणका लागि पत्रकारले उल्लेखनीय भूमिका खेल्नु पर्ने बताउनुभयो । पूर्व अध्यक्ष महेन्द्रराज श्रेष्ठ, जनक अर्याल, कृष्ण गिरि, हरिप्रसाद पोख्रेललाई सम्मान गरिएको थियो । महासंघको ६४ औं स्थापना दिवसका अवसरमा उहाँहरुलाई सम्मान गरिएको हो ।
