न्यून दृष्टियुक्तको घर बन्दै

कृष्ण न्यौपाने । दमौली, १६ चैत: तनहुँको व्यास नगरपालिका–१२ हुलाकीडाँडाका कमल भुजेल न्यून दृष्टियुक्त हुनुहुन्छ । उहाँकी पत्नी सिर्जना भुजेलले पनि आँखा देख्नुहुन्न । भुजेल दम्पतीको एक छोरा र एक छोरी छन् । छोराले समेत आँखा देख्दैनन् । २७ वर्षका कमलको काँधमा चार जनाको परिवार पाल्नुपर्ने जिम्मेवारी छ ।
उहाँ परिवारको लालनपालनका लागि ज्याला मजदुरी गर्नुहुन्छ । आफ्नै भरमा चार जनाको परिवार धान्न उहाँलाई धौधौ परिरहेको छ । उहाँहरुको बस्नका लागि घर छैन । विगत आठ वर्षदेखि ससुरालीबाट हुलाकी डाँडामा जग्गा उपलब्ध भएपछि छाप्रो बनाएर बस्नुभएको छ ।
हावाहुरी र पानी पर्दा निकै समस्या परेको उहाँहरुको परिवारलाई अब भने केही राहत मिल्ने भएको छ । तनहुँको व्यास नगरपालिका–१ स्थित युनिटी युवा क्लबको सक्रियतामा भुजेल परिवारका लागि घर निर्माण शुरु गरिएको छ ।
आर्थिक रुपमा विपन्न र परिवार नै अपाङ्गता भएको थाहा पाएपछि युवाहरुको सक्रियतामा घर निर्माण थालिएको क्लबका अध्यक्ष शिव पन्थ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक दिन गाउँ डुल्दै जाँदा उहाँहरुका बारेमा थाहा पायौँ, लगत्तै युवाहरुको सक्रियतामा रकम सङ्कलन थालियो र घर निर्माण शुरु गरेका छौँ ।”
शौचालयसहितको दुईकोठे घर बनाउन स्थानीय समाजसेवीदेखि विदेशमा रहनेहरुसँग पनि सहयोगको अपिल गरिएको छ । घर बनाउन रु तीन लाख ५० हजार लाग्ने अनुमान छ ।
घर निर्माणको लागि हालसम्म व्यास नगरपालिका–१ का युवा सनम तामाङमार्फत रु ३० हजार, नगरपालिका–२ का नोमा थापाले रु १० हजार बराबरको सिमेन्ट, दीपचन्द्र फर्निचरले घरको चौकोस, मलेशियामा रोजगारी गर्ने स्थानीयबाट रु १४ हजार ६०० र स्थानीय बासिन्दा तथा सङ्घसंस्थाबाट रु २० हजार सङ्कलन भएको छ । नगरपालिकाले रु ५० हजार सहयोग गर्ने नगरप्रमुख बैकुण्ठ न्यौपानेले प्रतिबद्धता जनाउनुभएको छ ।
वर्षायाम शुरु हुनुअघि नै घर बनाइसक्ने गरी धमाधम काम भइरहेको पन्थले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घर निर्माणका लागि रकम अपुग भइरहेको छ, चन्दा सङ्कलन अभियान पनि चलाइरहेका छौँ ।” जम्मा ७० घरधुरी रहेको यहाँका गाउँलेले कमलको घर निर्माणमा सहयोग गर्ने निर्णय भएको स्थानीयवासी शान्ता भुजेलले बताउनुभयो ।
सिँचाइ नहुँदा अन्नबाली लगाउन बाधा
तनहुँको देवघाट गाउँपालिका–१ कोटास्थित कालीगण्डकी नदी किनारमा ठूला टारहरुमा सिँचाइ सुविधा नपुग्दा अन्नबाली लगाउन समस्या भएको छ । सिँचाइ सुविधाको अभावमा ठूला टारमा मकै र कोदोबाहेक अन्य अन्नबाली लगाउन बाधा पुगेको किसानले गुनासो गरेका छन् ।
स्थानीय कृषक मणि गुरुङले टारहरुमा सिँचाइ अभाव हुँदा मकै र कोदोखेतीमै निर्भर हुनुपरेको गुनासो गर्नुभयो । उहाँका अनुसार सिँचाइ सुविधा पु¥याउन सके यहाँका टारमा बाह्रै महीना खेती गर्न सकिन्छ । उहाँले भन्नुभयो, “सिँचाइ सुविधा छैन । मकै र कोदोबाहेक अन्य खेती गर्न समस्या परिरहेको छ ।”
उहाँका अनुसार यस ठाउँमा सिँचाइ सुविधा पुगेमा मकै र कोदोको विकल्पमा धान, गहुँ, जौँ र मसुर, राजमाजस्ता अन्नबाली लगाउन सकिने सम्भावना रहेको छ । खेतीयोग्य जमीनमा मकै र कोदो लगाई चितवनको भरतपुर र नवलपरासीको गैँडाकोटबाट चामललगायत अन्य तरकारी खरीद गरेर ल्याउनुपर्ने बाध्यता रहेको उहाँले जानकारी दिनुभयो ।
स्थानीय कृषक माया आलेका अनुसार यहाँका सुख्खाटारबाट उत्पादित मकै र कोदो रक्सी पार्न प्रयोग गर्ने गरिएको छ भने बढी भएको गाईवस्तुलाई दिइन्छ । उहाँले भन्नुभयो, “आफ्नै जग्गामा खेती गरेर उब्जाउ गर्ने मन त छ तर सिँचाइ सुविधा छैन । चामल र तरकारी किनेर खानुपर्छ ।”
कोटाका कालिकाटार, आँपटार, गोपीटार र कोटाटारमा रहेका सयौँ हेक्टर खेतीयोग्य जमीनमा सिँचाइको अभावमा मकै र कोदो लगाउनुको विकल्प नभएको देवघाट गाउँपालिका–१ का वडाध्यक्ष भीम गुरुङले बताउनुभयो । कालीगण्डकी नदीको पानीले उक्त टारमा सिँचाइ गर्न सकेमा उक्त टारबाट उत्पादित अन्नबालीले सिङ्गो देवघाट गाउँपालिकालाई नै आत्मनिर्भर गराउन सकिने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार सिँचाइ सुविधा पु¥याउनका लागि गाउँपालिकाको बजेटले मात्र नधान्ने हुँदा त्यसका लागि प्रदेश र सङ्घीय सरकारलाई पनि अनुरोध गरिएको छ । गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षमा उक्त टारमा सिँचाइका लागि रु ६० लाख विनियोजन गरेको छ । तर उक्त रकमले समेत पर्याप्त मात्रामा सिँचाइ सुविधा पु¥याउन नसकिने जनाइएको छ ।
गाउँपालिकाका अध्यक्ष थापाले सिँचाइका लागि करोडौँ आवश्यक पर्ने हुँदा प्रदेश सरकारले उपलब्ध गराएको रकमले खासै उपलब्धि नदेखिने हुँदा सङ्घीय सरकारले समेत सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । यसै क्षेत्रका सांसद कृष्णकुमार श्रेष्ठले कोटाका खेतीयोग्य टारमा सिँचाइ सुविधा पु¥याउनका लागि सङ्घीय सरकारमार्फत बजेट विनियोजन गर्न पहल गर्ने बताउनुभयो ।
